सामाजिक विकास कार्यालय जुम्लाद्वारा सञ्चालित योजनाको अनुगमन सम्पन्न

आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक विकास कार्यालय, जुम्लामार्फत सञ्चालित विभिन्न पूर्वाधार विकास योजनाको स्थलगत अनुगमन सम्पन्न भएको छ ।

अनुगमन टोलीले जिल्लाका हिमा, सिंजा तथा कनकासुन्दरी गाउँपालिकामा निर्माणाधीन तथा सम्पन्न भएका शैक्षिक, सामाजिक र सामुदायिक पूर्वाधार योजनाको प्रगति, निर्माणको गुणस्तर तथा कार्यसम्पादनको अवस्था निरीक्षण गरेको थियो ।

हिमा गाउँपालिका १ स्थित कालिका माध्यमिक विद्यालय, बड्की मा १५ लाख रुपैयाँको लागतमा चारकोठे विद्यालय भवनको मर्मत तथा अधुरो भवन निर्माण कार्य सम्पन्न भएको पाइएको छ ।

त्यसैगरी, सिंजा गाउँपालिका १ मा रहेको सिंजा बहुमुखी क्याम्पस को ४ लाख रुपैयाँ लागतको पर्खाल निर्माण कार्य उपभोक्ता समितिमार्फत सम्पन्न भएको पाईएको छ ।

कनकासुन्दरी गाउँपालिका ६ स्थित गोरुचौर प्राथमिक विद्यालय मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको विद्यालय भवनको फाउन्डेसन निर्माण गरी पिल्लर खडा गरिएको छ भने बाँकी निर्माण कार्य आगामी आर्थिक वर्षमा निरन्तरता दिइने जानकारी दिइएको छ।

यस्तै, कनकासुन्दरी गाउँपालिका–३ स्थित कोईलिचरी माध्यमिक विद्यालय मा ५० लाख रुपैयाँको लागतमा भवनको तला थप तथा छत ढलान गर्ने कार्य ठेक्का प्रक्रियामार्फत सञ्चालन भइ काम सम्पन्न भई सकेको छ।

कनकासुन्दरी गाउँपालिका–५ मा निर्माणाधीन कसम नाटक घर को फाउन्डेसन निर्माण गरी पिल्लर उठाउने कार्य सम्पन्न भएको छ। सोही वडामा निर्माण भइरहेको ज्येष्ठ नागरिक भवन को प्रगतिसमेत अनुगमन गरिएको थियो ।

कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डगुफा माध्यमिक विद्यालय मा ३० लाख रुपैयाँको लागतमा अधुरो विद्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ।

त्यसैगरी, आधारभूत विद्यालय साउवाडा मा ३० लाख रुपैयाँको लागतमा दुईकोठे विद्यालय भवन निर्माण कार्य उपभोक्ता समितिमार्फत सफलतापूर्वक सम्पन्न भएको अनुगमनका क्रममा पाईएको छ ।

अनुगमन टोलीमा जिल्ला समन्वय अधिकारी रोम महत, सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढा, सामाजिक विकास कार्यालयका सब–इन्जिनियर प्रेमबहादुर शाही, कार्यालयका अन्य कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा निर्माण कार्यको गुणस्तर, तोकिएको मापदण्डको पालना तथा समयमै योजना सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायी, उपभोक्ता समिति र सरोकारवालालाई आवश्यक निर्देशनसमेत दिइएको सामाजिक विकास कार्यालयले जनाएको छ। कार्यालयले सार्वजनिक लगानीबाट सञ्चालित विकास योजनालाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मितिः   २०८३ असार २३ at 7:12 am 

  • कमेन्ट (Comment)