जुम्लामा लागुऔषध सेवन गरेर सवारी चलाउने पाँच चालक पक्राउ

जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त आयोजनामा लागुऔषध सेवन गरी सवारी साधन सञ्चालन गर्ने चालकहरूको पहिचान तथा नियन्त्रणका लागि विशेष चेकजाँच अभियान सञ्चालन गरिएको छ।
अभियानअन्तर्गत हिजो विभिन्न स्थानमा सवारी चालकहरूको लागुऔषध परीक्षण (ड्रग टेस्ट) गरिएको थियो। परीक्षणका क्रममा सात जना सवारी चालकको जाँच गर्दा पाँच जनाले लागुऔषध सेवन गरेको पुष्टि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका ट्राफिक इन्चार्ज जगत बहादुर कठायत ले जानकारी दिए।

उनका अनुसार लागुऔषध सेवन गरेको पुष्टि भएका पाँचै जना चालकलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाको जिम्मा लगाइएको छ।
ट्राफिक इन्चार्ज कठायतले सुरक्षित यात्राको सुनिश्चितताका लागि “लागुऔषध सेवन गरी सवारी नचलाऔँ, आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ” भन्ने मूल नारासहित अभियान सञ्चालन गरिएको बताए। यस अभियानले सडक दुर्घटना न्यूनीकरण र जिम्मेवार सवारी सञ्चालनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले जिल्लाभर सञ्चालनमा रहेका सवारी साधनमा जडान गरिएका नियमविपरीतका कालो सिसा हटाउने अभियान समेत अघि बढाएको छ।

त्यसैगरी अटो चालकहरूलाई सवारीमा झुन्ड्याइएका झल्लर हटाउन निर्देशन दिइएको छ। अटोको निर्धारित क्षमताभन्दा बढी यात्रु नबोक्न र ट्राफिक नियमको पूर्ण पालना गर्न चालकहरूलाई सचेतनामूलक शिक्षा समेत प्रदान गरिएको ट्राफिक इन्चार्ज कठायतले जानकारी दिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आगामी दिनमा पनि यस्ता चेकजाँच र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मितिः   २०८३ असार १९ at 9:27 pm 

  • कमेन्ट (Comment)