
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा सरोकारवालाहरूसँगको सहकार्यमा पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लामा पोषणको अवस्था, विषादीको प्रयोग तथा त्यसले मानव स्वास्थ्यमा पार्ने प्रभावबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले प्रस्तुती मार्फत जिल्लाको पोषण अवस्था, कुपोषणका चुनौती, विषादीयुक्त खाद्यान्नको असर तथा विषादी न्यूनीकरणका लागि आवश्यक रणनीतिबारे जानकारी गराएका थिए। त्यस्तै कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले कृषि क्षेत्रमा प्रयोग हुने विषादी, यसको सुरक्षित प्रयोग, प्राङ्गारिक खेतीको आवश्यकता तथा दिगो कृषि प्रणालीका विषयमा प्रस्तुति दिएका थिए ।
प्रस्तुतिमा विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा दीर्घकालीन असर पार्ने, नसर्ने रोगको जोखिम बढाउने तथा वातावरणीय सन्तुलनमा समेत नकारात्मक प्रभाव पार्ने विषयमा जोड दिइएको थियो। पोषणयुक्त र विषादीरहित खाद्यान्न उत्पादन तथा उपभोगलाई प्रवर्द्धन गर्न स्थानीय तह, कृषि तथा स्वास्थ्य क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको वक्ताहरूले बताएका थिए ।
कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, जिल्ला समन्वय अधिकारी रोम महत लगायत विभिन्न सरकारी कार्यालय, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य तथा कृषि क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले विषादी न्यूनीकरण र पोषण सुधारका लागि बहुपक्षीय सहकार्य, जनचेतना अभिवृद्धि तथा स्थानीय स्तरमा प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमले सुरक्षित खाद्य प्रणाली निर्माण तथा स्वस्थ समाज निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालेको छ ।











कनका खबर । २०८३ जेष्ठ २९