जेठ १ विद्यार्थी एकता दिवस अर्थात विद्यार्थी आन्दोलनको एक ऐतिहासिक दिन। आजको दिनबाट हामी पुन: एकता र मिलनको बहस गर्दै इतिहासको स्मरण गरौं। २०२१ साल वैशाख २५ देखि २९ गतेसम्म स्ववियु खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने, सबै राष्ट्रघाती असमान सन्धिहरू खारेज गर्नुपर्ने, गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने, विद्यार्थीलाई यातायातमा ५० प्रतिशत छुट दिनुपर्ने, अस्पतालमा छुट्टै विद्यार्थी सिट सुरक्षित गर्नुपर्ने मागसहित आन्दोलन चर्काउने निर्णय गरेर विद्यार्थीहरुको अन्तर कलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो।
सम्मेलन सकियपछि प्रहरीले घर र डेरामा छापामारी गिरफ्तारी तथा सम्मेलनको माइनुट समेत नियन्त्रणमा लियो। जेठ १ गते त्रिचन्द्र कलेजमा बसेको विद्यार्थीको आपतकालिन बैठकले गिरफ्तार भएका विद्यार्थीको रिहाइ तथा अन्तर कलेज विद्यार्थी सम्मेलनले पारित गरेका मागका लागि आन्दोलन गर्ने निर्णय गर्यो। बैठक पछि हजारौं विद्यार्थी मौन जुलुसमा सहभागि भए।
८ दिन लगातारको आन्दोलन पछि स्ववियु खोल्न पाउने अधिकार र गिरफ्तार विद्यार्थी रिहा भयो। उक्त आन्दोलनले हासिल गरेको उपलब्धिको सम्झनामा विद्यार्थीहरुले जेठ १ गतेलाई एकता दिवसका रुपमा मनाउने गरिएको छ।
२०१७ साल पुस १ गतेको शाही ‘कू’ ले जनताका अधिकारलाई कुण्ठित गर्यो। त्यसविरुद्ध विद्यार्थीहरु आन्दोलित भए। यस बीचमा २०२१ साल वैशाखमा त्रिचन्द्र कलेजमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो। सम्मेलनले सम्पूर्ण बन्दी विद्यार्थीहरूलाई विनासर्त रिहा गर्नुपर्ने, स्ववियु खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने, सबै राष्ट्रघाती असमान सन्धिहरू खारेज गर्नुपर्ने र गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने सहितका मागसहित आन्दोलन चर्काउने निर्णय गर्यो।
त्यसपछि २०२१ साल जेठ १ गते विद्यार्थीहरुले विशाल जुलुश निकाले। उक्त प्रदर्शनमा तत्कालीन पञ्चायती सरकारले व्यापब रुपमा दमन गर्यो। थुप्रै विद्यार्थीहरु पक्राउ परे। विद्यार्थीहरुले दमनको विरोधमा उपत्यकाव्यापी हड्ताल गरे। आन्दोलन झन् चर्काउँदै लगे।
अन्ततः पञ्चायती सरकार स्ववियु खोल्न पाउने अधिकार बहाली र बन्दी विद्यार्थी रिहाइ लगायतका माग पूरा गर्न बाध्य भयो। विद्यार्थीहरुको एकताको बलमा आन्दोलन सफल भएको यही दिनको सम्झनामा जेठ १ गतेलाई एकता र विजयको रुपमा मनाइँदै आइएको छ।
जेठ १ सबै राष्टघाती असमान सन्धिकोहरुको विरुद्ध आन्दोलनको उद्घोष पनि थियो। जुन आज पर्यन्त चलिरहेको छ। सँगै नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनकाे फुट र दरबार परस्त गतिविधि विरुद्ध क्रान्तिकारी साेच राख्ने विद्यार्थीहरु जुटेर त्रिचन्द्र कलेजमा अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न गरि पञ्चायतलाई झुकाएकाे दिन पनि आजै हो।
ऐतिहासिक आवश्यकता बोध र पहलकदमीको दिन नेपाली विद्यार्थी आन्दोलनको पहिलो सहिद गंगलाल श्रेष्ठ, चिनियाकाजी श्रेष्ठ, महान दशवर्षे जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेल, अखिल (क्रान्तिकारी) का तत्कालिन उपाध्यक्ष बेनोज अधिकारी, महासचिव पूर्ण पौडेल, तत्कालिन कन्द्रीय सचिवालय सदस्य जनम बराल (संग्राम), केन्द्रीय सदस्य नमराज शाही (जीवन संग्रम) लगायत देशको परिवर्तनका निम्ति ज्यानको आहुती दिने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता, घाइते कमरेडहरु पनि सम्झन योग्य हुनुहुन्छ।
हामी यो ऐतिहासिक दिनमा सहिद वेपत्ता तथा घाइते कमरेडहरुको परिवर्तनको सपना पूरा गरी छाड्ने प्रतिवद्धता गर्दछौं। समय फेरिएकाे छ। हामीले विद्यार्थी आन्दाेलनलाई रचनात्मक-श्रृजनशिल बनाउनु छ।
संविधान प्रदत्त माैलिक हकहरु कार्यान्वयनका लागि दबाब खडा गर्नु छ। राष्ट्रियता- जनजिविकाकाे पक्षमा निरन्तर लड्नु छ। विकास-समृद्दि र सुसासनका लागि अझै केहि गर्नु छ, इतिहासकाे गर्विलाे विरासतलाई पक्रदै विद्यार्थी आन्दाेलनलाई पुनर्ताजगि गर्नुछ। परिवर्तनका लागि जीवन अर्पण गर्ने सबै सहिदहरु प्रति रक्तिम लाल सलाम।
(लेखक जैशी क्रान्तिकारी स्ववियु काउन्सिल नेपाल केन्द्रीय सदस्य एवम् जुम्ला बहुमुखी क्याम्पसका स्ववियू सचिव हुनुहुन्छ।)
जयकृष्ण जैशी । २०८१ जेष्ठ १