नराकोटको ईलाका प्रशासन कार्यालय बन्द, सेवाग्राहीलाई समस्या

जुम्लाको इलाका प्रशासन कार्यालय नराकोट लामो समयदेखि बन्द छ। कार्यालय प्रमुख नरबहादुर बुढा लामो समयदेखि उपस्थित नभएकाले कार्यालयका सबै सेवा रोकिएका छन् ।

कार्यालय बन्द भएपछि नागरिकता, राष्ट्रिय परिचयपत्र, सिफारिस, मतदाता नामावली जस्ता दैनिक काम ठप्प भएका छन्। सेवाका लागि आएका स्थानीयले कार्यालय काम नभएपछि समस्या भएको बताएका छन्।

जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलका अनुसार कार्यालय प्रमुख नहुँदा केही काम डड्डा मगाएर गराइँदै आएको छ । उनका अनुसार आजै मन्त्रालयको निर्णयअनुसार नयाँ प्रमुख तोकिएको छ र उनी काठमाडौंबाट भोलि जुम्ला आउने छन्। प्रमुख आएपछि कार्यालयबाट पुनः सेवा सुरु हुने जानकारी उनले दिए।

स्थानीयका अनुसार नराकोट कार्यालयमा अधिकृत स्तरका कर्मचारी नबस्ने समस्या पटक पटक दोहोरिँदै आएको छ। हरेक ६ महिनामा यसरी कार्यालय बन्द हुँदा सेवाग्राहीले नागरिक काम गर्न धेरै दुःख पाउने गरेका छन् ।

प्रकाशित मितिः   २०८२ कार्तिक २३ at 12:53 pm 

  • कमेन्ट (Comment)