
नेपाल सुनचाँदी व्यवसायी संघ, जुम्लाले हालै प्रस्तुत गरिएको आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा गरिएको नयाँ कर प्रणालीको प्रावधानप्रति गम्भीर आपत्ति जनाएको छ । पत्रकार सम्मेलनको आयोजना गरी संघले अर्थ मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।
संघका अध्यक्ष राजु गहत राजले पत्रकार सम्मेलनमा बोल्दै बजेट वक्तव्यमा सुन, चाँदी, हिरा तथा बहुमूल्य पत्थरलाई ‘विलासिता वस्तु’ को रूपमा वर्गीकृत गर्दै लगाइएको अतिरिक्त करले व्यवसायीहरू मात्र होइन, आम उपभोक्ता समेत समस्यामा पर्ने बताए। उनले यस्तो प्रावधानले ग्रामीण क्षेत्रका व्यवसायहरू धराशायी हुने खतरा औंल्याए ।
कार्यक्रममा संघका सचिव ज्ञान बहादुर बिकले बोल्दै भने, सरकारको यस्ता निर्णयले हामी व्यवसायीहरूलाई गहिरो मारमा पार्नेछ । पहिले नै चाडपर्वमा माग अनुसार धान्न हम्मे हम्मे भइरहेको समयमा अबको करदाताको भार अझै बढ्ने निश्चित छ ।
संघले उक्त निर्णयप्रति असहमति जनाउँदै आर्थिक सहजता सुनिश्चित गर्नुपर्ने, व्यवसायीहरूलाई संरक्षण गरिनुपर्ने र जनताको पहुँचमा पर्ने गरी सुनचाँदी बजारको नियमन गर्न आग्रह गरेको छ । ज्ञापनपत्रमार्फत संघले सम्बन्धित निकायमा औपचारिक रूपमा आफ्ना गुनासोहरू राख्दै सरोकारवालाहरूको ध्यानाकर्षण समेत गराएको छ ।
कार्यक्रममा जुम्लाका विभिन्न व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। संघले निकट भविष्यमै अन्य स्थानीय तहहरूसँग समेत समन्वय गरी दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ ।











प्रकाश उपाध्याय । २०८२ असार १६