
चन्दननाथ नगरपालिका वडा नं. ६ मा एकल महिलाहरूको सशक्तिकरण र आत्मनिर्भरता अभिवृद्धिका लागि ‘कन्या च्याउ’ उत्पादनसम्बन्धी सातदिने तालिम सुरु गरिएको छ। एक कार्यक्रमबीच तालिमको औपचारिक उद्घाटन गरिएको हो।
उद्घाटन समारोहका प्रमुख अतिथि नगर उपप्रमुख रादेवी खड्का रहनु भएको थियो भने कार्यक्रमका विशेष अतिथि सामाजिक विकास कार्यालयका प्रमुख टोप बहादुर बुढा हुनुहुन्थ्यो। कार्यक्रमको सभाध्यक्षता वडा नं. ६ का वडा अध्यक्ष रवि थापाले गर्नुभएको थियो।
यस तालिममा २२ जना एकल महिला सहभागी भएका छन्। उनीहरूलाई व्यावसायिक रुपमा ‘कन्या च्याउ’ उत्पादन गर्न सक्षम बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ। तालिमका सहभागी महिलाहरूले च्याउ खेतीको आधारभूत जानकारीदेखि उत्पादन प्रक्रिया, हेरचाह र बजारीकरणसम्बन्धी सीप सिक्नेछन्।
तालिम सञ्चालनका लागि सामाजिक विकास कार्यालय, जुम्लाले २ लाख रुपैयाँ सहयोग गरेको छ भने चन्दनाथ नगरपालिका वडा नं. ६ ले १ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ। तालिम कार्यक्रमको सहजीकरण सुर्य सामाजिक सेवा संघ (4S) जुम्लाले गरिरहेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख खड्काले महिलाहरूको आर्थिक सशक्तिकरणका लागि यस्ता तालिमहरू निकै महत्वपूर्ण हुने बताउनुभयो। “एकल महिलालाई आत्मनिर्भर बनाउने दिशामा यो कार्यक्रमको योगदान महत्वपूर्ण छ,” उहाँले भन्नुभयो।
सामाजिक विकास कार्यालय प्रमुख टोप बहादुर बुढाले पनि महिलाहरूलाई सीपमूलक तालिम दिनु विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। “हामी महिलाहरूलाई अवसर दिएर उनीहरूलाई आत्मनिर्भर बनाउन चाहन्छौं,” उहाँले भन्नुभयो।
सभाध्यक्ष वडा अध्यक्ष रवि थापाले वडास्तरमै यस्ता कार्यक्रम आयोजना गर्नु आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि सीप विकासमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइने बताए।
तालिम सम्पन्न भएपछि सहभागी महिलाहरूले व्यावसायिक च्याउ उत्पादनमा संलग्न भई आर्थिक रुपमा स्वावलम्बी हुने अपेक्षा गरिएको छ। आयोजक संस्था तथा स्थानीय सरकारले तालिमपछिको फलदायी परिणाम सुनिश्चित गर्न आवश्यक सहयोग र अनुगमन गरिने प्रतिवद्धता जनाएको छ।











प्रकाश उपाध्याय । २०८२ जेष्ठ २०