पातारासी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

“स्थानीय स्रोतको उपयोग र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ पातारासी गाउँपालिका, जुम्लाको स्वास्थ्य शाखाको आयोजनामा एक विशेष कार्यक्रम आयोजना गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

पातारासी गाउँपालिकाको वडा नं. २ का वडा अध्यक्ष तथा कार्यवाहक गाउँपालिका अध्यक्ष बल बहादुर बोहराको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा

जिल्ला जनस्वास्थ्य कार्यालय, जुम्लाका प्रमुख कृष्ण सापकोटा उपस्थित थिए। कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा स्वयंसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य गाउँपालिकाका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सम्पूर्ण खोपहरु प्राप्त गर्न सुनिश्चत गर्नु रहेको थियो। साथै, खोप कार्यक्रमको प्रभावकारी संचालन, व्यवस्थापन, गुणस्तर कायम राख्ने तथा स्थानीय तहको स्वामित्व र नेतृत्वमा वार्षिक रुपमा वडा तथा पालिकास्तरमा पूर्ण खोप सुनिश्चितता प्रमाणिकरण गरिने लक्ष्य लिइएको छ।

स्वास्थ्य शाखाका इन्चार्ज रतन बुढथापाका अनुसार, खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै १९ महिनासम्मका खोप छुटेका बालबालिकाको पहिचान गरी उनीहरुलाई खोप पुरा गरिने छ। यसले विशेषगरी बाल मृत्युदर घटाउन सहयोग गर्ने विश्वास लिइएको छ।

खोप कार्यक्रमलाई दीगो बनाउने सन्दर्भमा स्थानिय तहका सरोकारवालाहरूको सक्रिय सहभागिता, साझेदारी र नेतृत्वलाई प्रोत्साहन गर्ने कुरा पनि कार्यक्रममा जोड दिइयो। सबै पालिकाहरूले पूर्ण खोप सुनिश्चितता प्राप्त गरेपछि वार्षिक रूपमा जिल्ला र प्रदेश स्तरमा पनि यसको प्रमाणिकरण गरिने स्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले जानकारी दिए।

कार्यक्रमका सभाध्यक्ष बोहराले गाउँपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै खोप कार्यक्रमको निरन्तरता र प्रभावकारितालाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।

यस कार्यक्रममा सहभागी सरोकारवाला निकायले बालबालिकाको स्वास्थ्य सुरक्षामा सामूहिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै, स्थानीय स्तरमा खोपको पहुँच र जनचेतनालाई अझ सशक्त बनाउन आग्रह गरे।

पालिकामा ५ बर्ष मुनिका ५ सय २७ जना बालबालिका रहेका छन जसमा ०-१५ महिना सम्म २ सय १९ र १६-५९ महिना जम्मा ३ सय ८ र तेसैमा पुर्ण खोप प्राप्त गर्ने २ सय ४७ रहेकाे छ

यस प्रकारको कार्यक्रमले समुदाय स्तरमै खोपको महत्व, पहुँच र नियमितता सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। पातारासी गाउँपालिकाको यो पहल अन्य स्थानीय तहका लागि पनि प्रेरणादायक बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः   २०८२ जेष्ठ ९ at 3:27 pm 

  • कमेन्ट (Comment)