जुम्लामा रोयम नेपालको आयोजनामा जिल्ला स्तरीय मानव अधिकार रक्षक युवा सञ्जाल गठन गरिएको छ। बिहीबार सम्पन्न उक्त कार्यक्रममा जिल्लाका ८ ओटै स्थानीय तहका १८ देखि ३० वर्ष उमेर समूहका युवाहरुलाई सहभागी गराइएको थियो। सञ्जालको अध्यक्षमा चन्दननाथ नगरपालिका–४ का पारस सुनार चयन भएका छन्।
३४ सदस्यीय नवगठित सञ्जालका अध्यक्ष सुनारले मानव अधिकार प्रवर्द्धनका लागि विगतदेखि नै क्रियाशील रहेको उल्लेख गर्दै थप जिम्मेवारी पाउँदा खुशी व्यक्त गरे। उनले मानव अधिकारको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै, “मानवले पाउनु पर्ने अधिकार माथि हस्तक्षेप गर्न कसैलाई पनि छुट छैन,” भने।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले सञ्जालसँग सहकार्य गर्न प्रशासन तयार रहेको बताए। उनले भने, “मानव अधिकार हनन हुन दिनु भनेको स्वयं हनन गर्नु हो। आगामी दिनमा मानव अधिकारको रक्षा गर्न अझ सशक्त भूमिका निर्वाह गरिनेछ।”
सञ्जाल गठन कार्यक्रम रोयम नेपालको आयोजना र ईन्सेकको साझेदारीमा सम्पन्न भएको हो। रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष बी. कसका अनुसार रोयम नेपालले विशेषगरी ग्रामीण क्षेत्रमा केन्द्रित रहेर मानव अधिकार प्रवर्द्धनका लागि कार्य गर्दै आएको छ। कर्णाली प्रदेशका १० जिल्लामा सक्रिय यो संस्था काठमाडौंमा मुख्यालय र सुर्खेतमा प्रदेश कार्यालय रहेको छ।
कार्यक्रममा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो। नवगठित सञ्जालले स्थानीयस्तरमा मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि योगदान पुर्याउने विश्वास गरिएको छ।
विश्व प्रकाश । २०८१ मङ्सिर १४