बालविवाह सँधैको पछुतो

तस्बिर सौजन्य : शुभाकार विश्वकर्मा

उनी तीन सन्तानकी आमा देउरूपा कामी ५० वर्षकी भइन्। उनको घर कनकासुन्दरी-६ लाहार्ज गाउँमा छ। उनको माइत र पोइलमा बालविवाह गर्ने चलन अझै हट्न सकेको छैन।

भर्खर कपटक मात्र रजस्वला भएकी देउरूपाले विवाह गर्नुपरेको थियोे। उनका तीन छाेरा छन्।

माइतीकाे आर्थिक अवस्था साह्रै नाजुक भएका कारण शिक्षा आर्जन पाइनन्। त्यसैले उनकाे १३ वर्षकाे कलिलाे उमेरमै विवाह गर्नु परेको थियोे।

‘त्यै बेला स्कुल पढ्न त क्या मुखसमेत देख्न पायानौं,’ उनले भनिन्, ‘कलिलाे उमेरमा विवाह भयाे। बालविवाह गर्दा धेरै समस्या हुँदाे रहेछ।’

वडा नम्बर-६ कै एकुमाया हमालकाे पनि १३ वर्षकाे उमेरमै विवाह भएकाे थियाे।

४० वर्षीया हमाल १७ वर्षकाे उमेरमै पहिलो सन्तानकाे आमा बनिन्।

तीन सन्तानकी आमा उनले आफ्ना सन्तानकाे बालविवाह हुन दिएकी छैनन्। तीनै सन्तानकाे विवाह गर्ने कानुन उमेर पुगे पनि आत्मनिर्भर र परिपक्व नहुञ्जेल विवाह हुन नदिने उनकाे भनाइ थियाे।

साेही गाउँका ७० वर्षीय भुम्लाे कामीले दुई वटा श्रीमती विवाह गरे। उनले दुवै श्रीमतीसँग बालविवाह गरेका थिए।

‘त्यतिबेला बालविवाह गरियाे सर। बालविवाह गर्न हुँदैन भन्ने थाहै थिएन। अब छाेराछाेरीकाे बालविवाह हुन दिदैनाै,’ भुम्लाे भन्छिन्।

साेही गाउँकी निरमाया हमालकाे भाेगाई भने बेग्लै छ। उनकाे २० पुगिसकेपछि प्रेम विवाह भएकाे थियाे।अहिले उनका दुई वटा सन्तान छन्। उनी घरव्यवहार सम्हाल्छिन्। उनका श्रीमान कालापहाडमा व्यापार गर्छन्।

‘मैले बालविवाह गरेकाे हाेइन। पढ्दापढ्दै विवाह गरेँ। तर अहिले पछुतो छ। पढाइ सकेर विवाह गरेकाे भए हुने रहेछ भन्ने लाग्छ। जागिर खाएर विवाह गरेकाे भए अहिले दुःख हुने थिएन,’ उनले आफ्नाे पीडा व्यक्त गरिन्।

कनकासुन्दरी-६ का देउरूपा, एकुमाया, भुल्लाे र निरमायाहरु समाजका प्रतिनिधि पात्र हुन। उनीहरु जस्ता बालविवाह गरेकाहरु गाउँमा प्रशस्तै छन्।

माथि उल्लेख गरिएका प्रतिनिधि पात्रहरु सबैको सामुहिक स्वर छ, ‘हामीले बालविवाह गरेकाे भएपनि अरू बालविवाह नगरिदेउन।’

शुक्रबार लाहार्ज गाउँमा आयाेजित अन्तरपुस्ता संवादमा उनीहरुले आफूमा भएको पछुतो व्यक्त गरेका हुन। उनीहरुले थपे, ‘बालविवाह कानुनी रुपमा अपराध रहेछ। हामी पछुतायाैं। अरूकाे पनि हुन दिन्नाैं।’

पछिल्लाे समय गाउँलेहरू बालविवाह विरूद्व सक्रिय हुन थालेका छन्। केही संख्यामा बालविवाह राेकेका समेत उदाहरण छन्।

उसाे त सिंगाे कनकासुन्दरी नै जिल्लामै सबैभन्दा बढी बालविवाह हुने क्षेत्रमा पर्छ।

आ.व. २०७७/०७८ मा कनकासुन्दरीमा २० वर्ष उमेर नपुगेका मात्रै ९० जना आमा भएका थिए। एक तथ्यांक अनुसार कनकासुन्दरीमा वर्षेनी २० प्रतिशत बालविवाह हुने गरेकाे छ।

प्लान इन्टरनेशनल नेपालकाे आर्थिक सहयाेग र आत्मसम्मानका लागि सहकार्य (क्याड)द्वारा सञ्चालित अन्तरपुस्ता कार्यक्रम अन्तरर्गत अन्तरपुस्ता कार्यक्रम सम्पन भएकाे हाे।

क्याड नेपालले सिंजा क्षेत्रका तीन वटा स्थानीय तहमा बालविवाह न्युनिकरणका क्षेत्रमा काम गर्दै आएकाे छ।

अन्तर पुस्ता संवादमा सहभागीहरूले बालविवाह न्युनिकरणका लागि स्थानीय तहले नीतिगत रूपमा याेजना बनाउनुपर्नेमा जाेड दिएका थिए।

प्रकाशित मितिः   २०८१ साउन १२ at 5:54 pm 

  • कमेन्ट (Comment)