म
एउटा आदेशको प्रतिक्षामा थिएँ !
मेरो आँखामा आक्रोश
र मस्तिष्कमा उत्तेजना थियो ।
पूर्वजन्ममा म
एउटा लडाकु थिएँ
एउटा डरलाग्दो अनुहार थिएँ !
मलाई तिम्रो हत्या गर्ने आदेश थियो
तिम्रो विचार
र तिम्रो घर परिवार नष्ट गर्ने आदेश थियो ।
म त्यस्तै थिएँ
मलाई त्यसरी नै निर्माण गरिएको थियो !
म
एउटा आँखा
एउटा कान
एउटा खुट्टा
एउटा हात
र आधा टाउको थिएँ !
जसरी यो जन्ममा
तिम्रो दुईवटा आँखा
दुईवटा कान
दुईवटा खुट्टा
दुईवटा हात
र एउटा सिंगै टाउको छ !
पूर्वजन्ममा
म एउटा कोपिग जस्तै
एउटा द्रौफ जस्तै
एउटा युप जस्तै
दुष्ट ईश्वरको भक्त थिएँ !
म
एउटा आदेशको प्रतिक्षामा थिएँ ।
मलाई तिम्रो धर्म
तिम्रो आस्था
तिम्रो राज्य खोसेर
तिमीलाई एक्लो पार्ने आदेश थियो !
मलाई
बिषालु सर्पहरुले बेरिरहने रुख हुने श्राप थियो
काँडाहरुको टुप्पोबाट खसेर
तिमीलाई घोचिरहने आदेश थियो !
पूर्वजन्ममा
म एउटा खुस्ट्यौला जस्तै
सेस्वार्गी जस्तै
र गु मा बस्ने किरा जस्तै
घिस्रिरहेको थिएँ !
पूर्वजन्ममा म
भ्रष्ट नेताको कार्यकर्ता थिएँ
म एक दास थिएँ !
म
एउटा घोषणापत्र
एउटा पर्चा
एउटा नारा
एउटा भ्रम
एउटा षड्यन्त्र
र एउटा हतियार थिएँ !
मलाई सपनाहरूको हत्या गर्ने आदेश थियो ।
म अनिदो थिएँ
मेरो आत्मा मृत थियो !
पूर्वजन्ममा म / म जस्तै थिएँ
तर/ म
अरु नै केहि हुन चाहन्थें !
म एउटा मौन गीत हुन चाहन्थें !
म
हल्ला हुँदै
मौन हुन चाहन्थें !
म
एउटा आदेशको प्रतिक्षामा थिएँ
मलाई तिम्रो अस्तित्व समाप्त पार्ने आदेश थियो
र म
तिम्रो प्रतिक्षामा थिएँ !
म यामहरु भएर तिमीलाई कुरिबसेँ
कहिले बादल
कहिले कुहिरो
र कहिले वर्षात भएर कुरिबसेँ ।
म चिहान खन्दै थिएँ
र लास बन्दै थिएँ !
म
त्यस्तै थिएँ
मलाई त्यसरी नै निर्माण गरिएको थियो ।
वास्तवमा
म तिमीजस्तै
एउटा मानिस हुन चाहन्थें !
तर / म
एउटा आदेशको प्रतिक्षामा थिएँ !
मौन आवाज । २०८१ बैशाख २२