जुम्लामा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गर्नुका साथै सवारी चालकको लागुऔषध सेवन परीक्षणमा पोजेटिभ देखिएपछि एक जनालाई पनि नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार भदौ २६ गते चन्दननाथ नगरपालिका–६ लाइज्युलाबाट तातोपानी गाउँपालिका–२ डाँगीवाडातर्फ जाँदै गरेका २२ वर्षीय रोशन शाहीको साथबाट ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद भएको हो। चेकजाँचका क्रममा कालो प्लास्टिकमा लुकाएर राखिएको उक्त पदार्थ फेला परेको र तौल गर्दा शुद्ध ७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
तातोपानी गाउँपालिका–२ का वीरबहादुर शाहीका छोरा रोशनलाई पक्राउ गरी जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
यस्तै, सोही दिन दिउँसो नाग्मा–जुम्ला सडकखण्डमा गरिएको सवारी चेकजाँचका क्रममा तातोपानी गाउँपालिका–६ का २५ वर्षीय चालक जयप्रकाश खत्री लागुऔषध सेवन परीक्षणमा पोजेटिभ देखिएपछि नियन्त्रणमा परेका छन्।
ट्राफिक प्रहरीसहितको टोलीले नाग्माबाट जुम्ला बजारतर्फ आउँदै गरेको सवारीसाधन जाँच गर्ने क्रममा चालक खत्रीको लागुऔषध परीक्षण किटबाट परीक्षण गरेको थियो। परीक्षणमा पोजेटिभ देखिएपछि उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालतको आदेशअनुसार तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शैलिकराम खनालले लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको बताए।











कनका खबर । २०८३ भाद्र २६