जुम्लामा रास्वपाले मुटुरोगी कार्कीलाई सहयोग गरेर मानाउँदै स्थापनाको दोस्रो वर्षगाँठ

राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाले आफ्नो दोस्रो स्थापना दिवस मनाउनु पूर्व मुटुरोगी रणबहादुर कार्कीलाई सहयोग गरेको छ।

तातोपानी गाउँपालिका -३ लिताकोटका कार्की हाल ७ नम्बर वडा सर्मीगाउँमा बस्दै आएका छन्।

अस्पतालको शैयाबाट उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गर्दै आएका उनलाई रास्वपा जुम्लाका नेताहरुले खर्च उठाउँदै सहयोग गरेको पार्टीका जुम्ला संयोजक मक्कर बहादुर भण्डारीले बताए।

‘हामीले पार्टी स्थापनाको दोस्रो वर्षगाँठको पूर्व सन्ध्यामा चिया खर्च कटाएर १० हजार पाँच सय रुपियाँ सहयोग गरेका हौं,’ उनले भने।

उनका अनुसार मुटुरोगी कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गर्दै आए पनि थप उपचारका लागि काठमाडौं गएपछि उनलाई सहयोगको लागि खातामा रकम जम्मा गरिएको हो।

उनले थपे, ‘विपन्न नागरिकलाई उपचार गर्न समस्या छ। सबैको सहयोगबाट विपन्न नागरिकको उपचारमा टेवा पुग्ने उद्देश्यले सहयोग गरेका हौं।’

हाल सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी दुई वर्ष अगाडि असार ७ गते स्थापना भएको हो।

स्थापनाको छोटो समयमा संसदको चौथो ठूलो शक्ति बनेको रास्वपाले पछिल्लो समय कर्णालीमा संगठन विस्तारका गतिविधि गरिरहेको छ।

प्रकाशित मितिः   २०८१ असार ६ at 2:23 pm 

  • कमेन्ट (Comment)