मधेसको प्राचीन मिथिला क्षेत्रमा छठ पर्वको उल्लास छाएको छ । चार दिने पर्वको दोस्रो दिन आज बर्तालुले श्रद्धा र निष्ठापूर्वक ‘खरना’ विधि गर्दैछन् ।यसअघि शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधि पूरा गर्दै बर्तालुले व्रत सङ्कल्प गरेका थिए । आज पञ्चमीका दिन बिहान स्नान गरी दिनभरि निराहार व्रत बसेका बर्तालुले साँझ चन्द्रदर्शनपछि सख्खर, दूध र चामलबाट तयार पारिएको खीर छठी मातालाई चढाएर प्रसादका रूपमा ग्रहण गर्नेछन् ।
छठ पर्वको तेस्रो दिन षष्ठी तिथिमा बर्तालुले जलाशय तथा नदी किनारका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । मिथिलामा यसलाई ‘सझुका अरख’ भनिन्छ । त्यसैगरी सप्तमीका दिन उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि पर्वको समापन हुनेछ । यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।छठ पर्वमा ठकुवा, भुसुवालगायतका परम्परागत मिष्टान्न परिकार प्रसादका रूपमा तयार गरिन्छ ।
यी प्रसाद आफन्त तथा इष्टमित्रलाई वितरण गर्ने चलन छ ।पहिले मधेसी हिन्दू समुदायमा बढी प्रचलित छठ पर्व पछिल्लो समय पहाडी हिन्दू समुदायमा समेत लोकप्रिय बन्दै गएको छ । मुस्लिम समुदायले समेत श्रद्धा र सद्भावका साथ सहभागिता जनाउने गरेका छन् । सबै धर्म, जाति र समुदायको सहभागिताले छठ पर्व मिथिलाको साझा लोकआस्थाको महापर्वका रूपमा स्थापित हुँदै गएको छ ।











कनका खबर । २०८३ कार्तिक २९