सल्यानको दार्मामा स्क्रबटाइफस संक्रमण : १९१ जनाको परीक्षण गर्दा ६० मा पुष्टि

सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफसको संक्रमण बढ्दै गएको छ। पछिल्लो समय संक्रमण तीव्र बनेपछि गाउँपालिकाले चार स्थानमा एकैपटक परीक्षण सुरु गरेको छ। सोमबार मात्रै १९१ जनाको किटद्वारा परीक्षण गर्दा ६० जनामा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ।
दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक यज्ञबहादुर बस्नेतका अनुसार साउनको दोस्रो सातादेखि पालिकामा स्क्रबटाइफस देखिन थालेको हो। १ भदौमा पहिलो संक्रमितको मृत्यु भएको थियो । त्यसयता संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

‘८ भदौमा नै संक्रमणबारे जानकारी गराएका थियौँ। तर परीक्षण किटको अभाव हुँदा समस्या भयो,’ बस्नेतले भने, ‘अहिले चार ठाउँबाट परीक्षण भइरहेको छ। सोमबार १९१ जनाको परीक्षण गर्दा ६० जनामा संक्रमण देखियो।’

स्वास्थ्य शाखाका अनुसार पालिकाका अधिकांश बस्तीमा ज्वरोका बिरामी बढेका छन् । परीक्षण गरिएका बिरामीमध्ये दैनिक दुईदेखि पाँच जनासम्ममा संक्रमण पुष्टि हुँदै आएको छ।

पछिल्लो समय दीर्घरोग भएका व्यक्तिमा संक्रमण देखिनुका साथै उनीहरूको अवस्था जटिल बन्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन्।

प्रकाशित मितिः   २०८३ असोज ६ at 10:29 am 

  • कमेन्ट (Comment)