मुगुको आवाज बनेका पत्रकार राजबहादुर शाही झापामा सम्मानित

दुर्गम हिमाली जिल्ला मुगुमा बसेर करिब तीन दशकदेखि ग्रामीण पत्रकारिता र साहित्यका माध्यमबाट स्थानीय आवाज उठाउँदै आएका पत्रकार राजबहादुर शाही झापामा सम्मानित भएका छन्।
पाथीभरा अनलाइन टेलिभिजनको आयोजनामा सम्पन्न पाथीभरा साहित्य पत्रकारिता साधना सम्मेलन–२०८३ मा शाहीलाई कदरपत्रसहित सम्मान गरिएको हो। विकट भूगोलमा रहेर पत्रकारिता, साहित्य तथा सामाजिक सरोकारका विषयमा निरन्तर योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
पाथीभरा अनलाइन टेलिभिजनका अध्यक्ष तथा महाप्रबन्धक दीपक विवशका अनुसार दुर्गम मुगुमा रहेर शाहीले लामो समयदेखि पत्रकारितामार्फत स्थानीय समस्या, सम्भावना र जनजीवनका विषयलाई राष्ट्रिय बहसमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
मुगुको सोरु गाउँपालिका–४ मा जन्मिएका शाहीले द्वन्द्वकालमा अस्थायी शिक्षकको जिम्मेवारी छाडेर पत्रकारितालाई आफ्नो कर्मक्षेत्र बनाएका थिए। त्यसयता उनले मुगुको विकास निर्माण, भोकमरी, अभाव, शिक्षा, स्वास्थ्य, कुपोषण, जडीबुटी, पर्यटन तथा महिला स्वास्थ्यजस्ता विषयलाई निरन्तर समाचारको केन्द्रमा राख्दै आएका छन्।
विशेषगरी दुर्गम क्षेत्रमा जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलाका समस्यालाई उनले प्राथमिकताका साथ उठाउँदै आएका छन्। उनका समाचारमार्फत सार्वजनिक भएका कतिपय घटनाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै उद्धार र उपचारमा समेत सहयोग पुगेको शाही बताउँछन्।
‘दुर्गम ठाउँको समस्या समाचारमा ल्याउनु मात्रै होइन, त्यसले समाधानतर्फ पनि बाटो खोल्नुपर्छ भन्ने मेरो मान्यता हो,’ शाहीले भने।
पत्रकारितासँगै साहित्यलाई पनि निरन्तरता दिएका शाही रारा साहित्य समाज तथा कर्णाली साहित्य प्रतिष्ठानलगायत संस्थासँग आबद्ध छन्। उनले कथा, कविता र गजल लेख्दै आएका छन्। उनका साहित्यिक रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्।
सम्मानपछि शाहीले दुर्गम क्षेत्रमा बसेर काम गर्ने पत्रकारको योगदानलाई झापामा आएर गरिएको सम्मानले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको बताए।
‘मुगुको मान्छे झापामा आएर सम्मानित हुन पाउँदा निकै खुसी लागेको छ। दुर्गम क्षेत्रमा कठिन परिस्थितिबीच काम गरिरहेका पत्रकारको योगदानलाई सम्झिनु आफैंमा महत्वपूर्ण कुरा हो,’ उनले भने।
शाहीको पत्रकारिता यात्रा २०५७ सालबाट सुरु भएको हो। उनले २०५७ देखि २०५८ सालसम्म अन्नपूर्ण पोस्ट्का मुगु संवाददाताका रूपमा काम गरे। त्यसपछि २०५९ देखि २०८१ सालसम्म कान्तिपुर मिडिया ग्रुपका मुगु जिल्ला संवाददाताका रूपमा जिम्मेवारी सम्हाले। हाल उनी कान्तिपुर टेलिभिजनका मुगु संवाददाताका रूपमा कार्यरत छन्।
पछिल्ला दुई वर्षदेखि उनी क्याराभान रिसर्च मिडिया प्रालिका अध्यक्षसमेत छन्।
दुर्गम भूगोलमा बसेर स्थानीय जनजीवनका मुद्दालाई निरन्तर समाचार र साहित्यका माध्यमबाट उठाउँदै आएका शाहीको सम्मानलाई मुगुको ग्रामीण पत्रकारिताको योगदानको सम्मानका रूपमा समेत हेरिएको छ।

प्रकाशित मितिः   २०८३ भाद्र ८ at 1:34 pm 

  • कमेन्ट (Comment)