जुम्लामा आयुर्वेद स्वास्थ्य केन्द्रको पाँच दिने योग ध्यान शिविर

जुम्लाको चन्दननाथ नगरपालिको नेपाली सेनाको खेल मैदान टुडिखेलमा बृहत्त योग ध्यान शिविर सुरु भएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको आयोजनामा निःशुल्क बृहत्त योग ध्यान शिविर सुरु भएको हो।

जेठ २ गते बुधबार देखि सुरु भएको शिविर जेठ ६ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ। चन्दननाथ नगरपालिका जुम्लाको समन्वयमा निःशुल्क बृहत्त योग ध्यान शिबिर संचालन भएको हो । ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नाराका साथ बृहत्त योग ध्यान शिविर गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका कार्यालय प्रमुख नन्द प्रसाद न्यौपानेले बताए।

‘शिविरमा दैनिक उत्साहजनक सहभागिता भइरहेको छ। निःशुल्क शिविर भएकाले सबै नागरिक सहभागी हुन सक्ने वातावरण मिलाइएको छ,’ उनले भने, ‘स्वास्थ्य उपचारबाट निको नभएका रोगको उपचारको विकल्पको रुपमा योग साधना भएकाले शिविरको आयोजनका गरिएको हो।’

विश्व विख्यात योग गुरु स्वामी रामदेवका शिश्य स्वामी कर्णदेवबाट तथा पतंजली योग समिति कर्णाली प्रदेशका सह प्रभारी केन्द्रीय योग प्रशिक्षक जय बहादुर मल्लबाट योग प्रशिक्षण गराइरहेको प्रमुख न्यौपानेले जानकारी दिए।

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले गरेको यो शिविरले नागरिकलाई स्वस्थ बनाउन मद्दत गर्ने चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए।

‘योगले सकारात्मक सोचको विकास गराउन सहयोग गर्छ। मनमा नकारात्मकता नआउने भएकाले व्यक्तिको जीवन पद्धतिमा नै परिवर्तन आउने भएकाले सबैले योग अनिवार्य गर्नु जरुरी छ,’ उनले भने।

उनका अनुसार पटक पटक आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले गरेको यो योगले नागरिककारो स्वास्थ्यमा लागि ठुलो राहत हुनेछ।

शिविरमा योग शिक्षा दिँदै प्रमुख प्रशिक्षक स्वामी कर्णदेवले स्वास्थ्यलाई स्वस्थ राख्न नियमित योग, खानपिनमा ध्यान, नियमित स्वस्थ्य परिक्षण, धुम्रपान तथा मध्यपान सेवन नगर्न सुझाव दिएका छन्।

उनले भने, ‘शारीरिक रूपमा स्वस्थ मानिस शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउन सक्छ। सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो भने यो अनुभूति र रूपान्तरण प्रक्रिया समेत हो।’

प्रकाशित मितिः   २०८१ जेष्ठ ६ at 12:38 pm 

  • कमेन्ट (Comment)