सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यहार हुनुपर्ने भन्दै उनीहरूले सोमबार काठमाडौंको माइतिघर क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले पीडितलाई न्याय दिइयोस्,सहकारी पीडितका समूहलाई फुटाउने षडयन्त्र नगरियोस्,छिटो न्याय दे लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
साना वा ठूला बचतकर्ता नभनी सबैलाई समानरूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका छन् ।
साथै उनीहरूले आफूहरूको आन्दोलन विशुद्ध पीडितहरूको साझा मञ्च भएकाले कुनै राजनीतिक दल वा घुसपैठियाहरूलाई ठाउँ नदिने र पीडितकै नेतृत्वमा आन्दोलन अघि बढाउने जनाएका छन् । सरकारले आफ्ना मागहरू तत्काल कार्यान्वयन नगरे दुई दिनको ध्यानाकर्षण र्यालीपछि थप सशक्तरूपमा आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् ।










कनका खबर । २०८३ साउन ११