देउवा पक्षको रिट निवेदन सर्वोच्चमा भएन दर्ता, थप अध्ययन गरिने

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी असोजका लागि तय भएको १५ औं महाधिवेशन रोक्न माग गर्दै लगेको निवेदनमा सर्वोच्च अदालतले थप अध्ययन गर्ने भएको छ ।

१५औं महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठ सर्वोच्च पुगेका थिए ।

यद्यपि उक्त रिट निवेदन दर्ता नभएको कांग्रेसका एक नेताले जानकारी दिए । उनका अनुसार, थप अध्ययन गर्नुपर्ने भन्दै रिट निवेदन दर्ता नभएको जानकारी सर्वोच्च प्रशासनले गराएको छ ।

यो समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदनसमेत दिएको थियो ।

सर्वोच्चले उक्त मुद्दामा पुन: सुनुवाइको आदेश गरिसकेको छ । अहिले भने एकपक्षीय ढंगले महाधिवेशनको तालिका सार्वजनिक गरेको भन्दै निवेदन पेस गर्न नेताहरू सर्वोच्च गएका थिए ।

प्रकाशित मितिः   २०८३ भाद्र ५ at 5:38 pm 

  • कमेन्ट (Comment)