लामो समयदेखि पर्याप्त वर्षा नहुँदा मुगु जिल्लाका विभिन्न क्षेत्रमा लगाइएका अन्नबाली सुक्न थालेपछि किसानहरू गम्भीर चिन्तामा परेका छन्। पानीको अभावका कारण धान, कोदो, भट्ट, काउनी,आलु,मकै लगायतका मुख्य खाद्यान्न बालीहरू खेतमै ओइलिन थालेका छन् भने यस वर्ष उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिएको छ।
छायानाथ रारा नगरपालिका–१०तल्लेख की कृषक मानदेबी बि.क. ले वर्षा नहुँदा बालीको वृद्धि प्रभावित भएको बताइन्। “लामो समय पानी नपरेपछि धान, कोदो, भट्ट, काउनी सबै बाली पहेँलिँदै सुक्न थालेका छन्। खेतमा लगाएको मेहनत खेर जाने हो कि भन्ने चिन्ता बढेको छ,” उनले भनिन्।
सोही वडाकी अर्की कृषक पार्बती बुढाका अनुसार खडेरीका कारण अन्नबालीमा ठूलो क्षति पुगिसकेको छ। मुख्य खाद्यान्न बाली नै सुक्न थालेपछि आगामी दिनमा खाद्य अभाव हुन सक्ने डर स्थानीयमा बढ्दै गएको उनले बताइन्।
मुगु लगायत कर्णाली प्रदेशका अधिकांश किसान परम्परादेखि आकासे पानीको भरमा खेती गर्दै आएका छन्। तर यस वर्ष समयमै वर्षा नहुँदा खेतबारी सुख्खा बनेका छन्। कतिपय स्थानमा रोपिएका धानका बिरुवा समेत ओइलिन थालेका छन् भने खेतगरा चिराचिरा परेका देखिन्छन्।
एकातिर आर्थिक मन्दीको असरले ग्रामीण जनजीवन प्रभावित भइरहेका बेला अर्कोतर्फ खडेरीले कृषकको समस्यामा थप बोझ थपेको स्थानीयको भनाइ छ। कृषि नै मुख्य आयस्रोत रहेको क्षेत्रमा वर्षा अभावले उत्पादन घट्ने र त्यसको प्रत्यक्ष असर खाद्य सुरक्षामा पर्ने चिन्ता बढ्दै गएको छ।











कनका खबर । २०८३ असार ९