
रारा जाने पर्यटक तथा स्थानीय सवारी साधनलाई लक्षित गर्दै जुम्लाको गोठिज्युला क्षेत्रमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिएको छ। तिला कर्णाली यातायात प्रालिले गोठिज्युलाको गोरूचौरस्थित होटल एप्पल भ्युमा उक्त चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो।
विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको अवस्थामा यात्रु तथा चालकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले चार्जिङ स्टेसन स्थापना गरिएको तिला कर्णाली यातायात प्रालिका पदम भण्डारीले जानकारी दिए। उनका अनुसार स्टेसन ४० वाडको रहेको र सेवा लिन प्रतियुनिट ७ देखि १० रुपैयाँसम्म शुल्क लाग्नेछ।
रारा जाने मुख्य मार्गमा पर्ने गोठिज्युला क्षेत्रमा चार्जिङ सुविधा उपलब्ध भएपछि विद्युतीय सवारी चालकलाई लामो यात्राका क्रममा सहजता हुने अपेक्षा गरिएको छ। विशेषगरी रारा भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकले यसबाट प्रत्यक्ष लाभ लिन सक्नेछन्।
भण्डारीका अनुसार साबिक कर्णाली क्षेत्रमा जुम्ला सदरमुकामपछि दोस्रो पटक गोठिज्युलामा फास्ट चार्जिङ स्टेसन स्थापना गरिएको हो। यसअघि जुम्ला सदरमुकाममा मात्रै यस्तो सुविधा उपलब्ध थियो।
चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय सवारीको प्रयोगलाई थप प्रोत्साहन मिल्नुका साथै पर्यावरणमैत्री यातायात प्रणाली विस्तारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। स्थानीय व्यवसाय, पर्यटन प्रवर्द्धन तथा यात्रु सेवामा समेत यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।










कनका खबर । २०८३ असार ६