नेपाली काँग्रेस जुम्लाद्वारा आगलागी पीडितलाई राहत वितरण

गएराति तातोपानी गाउँपालिका वडा नं. ८ स्थित बुन्तडी गाउँमा आगलागी हुँदा स्थानीय डिल्ली शाहीको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट घरसहित भित्र रहेका लत्ताकपडा, अन्नपात र दैनिक उपभोगका सामग्री जलेर नष्ट भएका छन्। आगलागीको कारण खुल्न नसकेको भए पनि क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको स्थानीय स्रोतले जनाएको छ।

पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नेपाली काँग्रेस जुम्ला ले राहत सामग्री प्रदान गरेको छ। नेपाली काँग्रेसका तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार दिप बहादुर शाही को पहलमा उक्त राहत सहयोग जुटाइएको हो।

राहत सामग्रीअन्तर्गत सिरक २ थान, डसना २ थान, सिरानी २ थान, तन्ना २ थान, कुकर २ थान, थाल ५ थान, गिलास ५ थान, कचौरा ५ थान, चामल २५ केजी, दाल १० केजी, मसला तथा बेसार, र चिनी ५ केजी प्रदान गरिएको छ।

राहत सामग्री वितरणका लागि नेपाली काँग्रेस तातोपानी गाउँपालिका सभापति धनप्रसाद चौलागाईं, नेपाली काँग्रेस जुम्ला क्षेत्र नं. १ का सचिव तीर्थ न्यौपानेसहितको टोली घटनास्थलमा पुगेको थियो। टोलीले पीडित परिवारलाई भेटेर आवश्यक सहयोग हस्तान्तरण गरेको जनाएको छ।

नेपाली काँग्रेस जुम्लाले विपद्को समयमा पीडित परिवारलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दै अन्य सहयोगी निकाय तथा व्यक्तिहरूलाई समेत सहयोगका लागि आह्वान गरेको छ। आगलागीबाट प्रभावित परिवारलाई थप सहयोग आवश्यक पर्ने देखिएकाले सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक सहयोग जुटाइने बताइएको छ।

प्रकाशित मितिः   २०८२ फाल्गुन ८ at 8:52 pm 

  • कमेन्ट (Comment)