जुम्ला । जनस्वास्थ्य कार्यालय जुम्लाले जिल्ला कारागार, जुम्लामा रहेका ७२ जना कैदीबन्दीहरूको आधारभूत स्वास्थ्य तथा मानसिक स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ । यस्तै उच्चरक्तचाप ८ जना, मानसिक स्वास्थ्य परिक्षण तथा परामर्श २५ जना र मधुमेह समस्या १२ जना कैदीवन्दी रहेका छन् । कारागार भित्र रहेका कैदीबन्दीहरूको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय जुम्लाको नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू टोली सक्रिय रूपमा सहभागी थिए ।
टोलीले कैदीबन्दीहरूको सामान्य शारीरिक परीक्षणसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या पहिचानमा विशेष ध्यान दिएको थियो ।
विशेषगरी कारागार जस्तो सीमित वातावरणमा लामो समय बस्नुपर्दा देखिन सक्ने तनाव, चिन्ता, डिप्रेसन, अनिद्रा लगायतका मानसिक स्वास्थ्य समस्याको मूल्यांकन गरी आवश्यक परामर्श प्रदान गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जानकारी दिए ।
उनका अनुसार, मानसिक स्वास्थ्य परीक्षणका क्रममा कैदीबन्दीहरूलाई सकारात्मक सोच, आत्मबल वृद्धि तथा तनाव व्यवस्थापनका उपायबारे समेत जानकारी गराइएको बताए ।
उनले भने, परीक्षणका क्रममा केही कैदीबन्दीहरूमा सामान्य रोगका लक्षण देखिएपछि तत्काल औषधि वितरण गरिएको छ भने जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई थप उपचारका लागि सिफारिस गरिएको छ ।
कार्यालय प्रमुख शर्माका अनुसार, कारागार भित्र रहेका नागरिकहरू पनि राज्यका समान अधिकार प्राप्त नागरिक भएकाले उनीहरूको स्वास्थ्य सुरक्षामा कुनै कमी हुन नदिन यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने बताए ।
यस किसिमका स्वास्थ्य जाँच कार्यक्रमले रोगको प्रारम्भिक पहिचान, उपचारमा सहजता र मानसिक सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । कार्यक्रम बाट कैदीबन्दीहरूले स्वास्थ्य सेवामा पहुँच पाएको भन्दै सन्तुष्टि व्यक्त गरेका छन् ।
जनस्वास्थ्य कार्यालय जुम्लाकाे अगुवाइमा कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परिक्षण











कनका खबर । २०८२ पुष २७