काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ। तोकिएको समयमा नियमित महाधिवेशन नहुने भएको जनाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको सूचना जारी गरेपछि कांग्रेसमा भाडभैलो सुरु भएको हो।
उनीहरूले यही पुस २७ र २८ गते विशेष महाधिवशेन गर्ने भन्दै भृकुटीमण्डलको प्रदर्शनीस्थलको बुकिङ गरेका छन्। महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगन गरेको जनाएका छन्। उनीहरूले विकल्प विशेष महाधिवेशन हुने स्पष्ट पारेका छन्। उनीहरूले सार्वजनिक सूचना जारी गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी यसै सूचनामार्फत स्थगित गरिएको जानकारी गराएका छन्।
उक्त सूचना जारी भएको केही समयपश्चात पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको ३ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी गराए।
पुस २६ गते नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार त्यसअघिका अन्य कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएको कारण सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बन्न पुगेको महामन्त्रीद्वयको निष्कर्ष छ। उनीहरूको विज्ञप्तिमा भनिएको छ, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर, नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ।’
पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी रहेको उल्लेख गर्दै उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू संभव भएसम्म सर्वसम्मतिले अगाडि बढाइने उनीहरूले बताएका छन्। जेन–जी आन्दोलनपछि नियमित र विशेष महाधिवेशनको विषयमा कांग्रेसमा ठूलो अन्तविरोध रहँदै आएको छ।
भदौ २३ र २४ को घटनामा घाइते भएपछि सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाएर उपचारका लागि सिंगापुर गए। यसपछिमा बसेको केन्द्रीय समितिको बैठक डेढ महिनाभन्दा बढी चल्यो तर कुनै निष्कर्ष दिन सकेन। सभापति देउवा उपचार गरेर फर्किपछि मात्रै महाधिवेशनको टुंग्यो त लगाइयो तर अहिले आएर निर्वाचनको बहानामा महाधिवेशन कामकारबाही नै अघि बढेनन्।
सुरुवातदेखि नै निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने सुरुमा संस्थापन पक्ष रहँदै आएको थियो, महामन्त्रीद्वय थापा र शर्मा भने निर्वाचनअघि नै नियमित महाधिवेशन हुनुपर्ने र नभएमा विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा थिए भने डा. शेखर कोइराला मध्यधारमा थिए। तर, महामन्त्रीद्वयको ठूलो दबाबपछि महाधिवेशन पुस २६ देखि २८ सम्मका लागि तोकिएको थियो।











कनका खबर । २०८२ पुष १८