सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु चार जना घाइते

सुर्खेतको भेरीगंगा नगरपालिकामा शुक्रबार दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

भेरीगंगा नगरपालिका–८, कुइरेका २७ वर्षीय डिल बहादुर शाहीको खेतमा धान रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा मृत्यु भएको हो।

दिउँसो करिब ३ बजे स्थानीय वीर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासि चट्याङ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक माेहनजंग बुढ्थापाकाले बताए ।

चट्याङ लागेर गम्भीर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । चट्याङ लागेर घाइते हुनेहरूमा सोही स्थानका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नवीन विक र ३० वर्षीया सुनिता गिरी रहेका छन्।

उनीहरूको अवस्था सामान्य रहेको र मेहलकुना अस्पतालमा उपचार भइरहेको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम बहादुर खत्री र प्रहरी पोस्ट जहरेबाट प्रहरी सहायक निरीक्षक खगेन्द्र सुनारको कमान्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो।

प्रकाशित मितिः   २०८२ असार २० at 5:15 pm 

  • कमेन्ट (Comment)