देउवाले पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्ने कांग्रेसको विश्वास

नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई  स्वदेश फर्किएकोमा स्वागत गर्दै उनीबाट पार्टीले अभिभावकीय भूमिका निर्वाह हुने अपेक्षा प्रकट गरेको छ।
सभापति गगन थापाको अध्यक्षतामा साउन २४ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकले  विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तन संस्थागत गर्न देउवाको भूमिका रहने अपेक्षा गरेको छ।
बैठकले देउवाप्रति सम्मान प्रकट गरेको छ।
‘नेपाली कांग्रेसको गर्विलो इतिहास निर्माणमा उहाँको भूमिका एवं लोकतान्त्रिक आन्दोलनमा गर्नु भएको नेतृत्वप्रति हार्दिक सम्मान प्रकट गर्दछ,’ प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले निर्णयमा भनेको छ – ‘पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्दछ।’

कांग्रेसले देउवाको पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

प्रकाशित मितिः   २०८३ साउन २८ at 7:57 pm 

  • कमेन्ट (Comment)