कथा : प्रेम

म भर्खर खर्बारीमा पुगेर एक सप्को घाँस काट्नमात्र भ्याएकी थिएँ । फोनको रिङटोन बज्यो । हतपत हँसिया भुँइमा फ्याकेर फोन भए नजिक पुगेँ र मोबाइलको स्क्रिनमा हेरेँ । उनको मुस्कुराएको फोटो देखेँ । हतपत फोन हातमा लिएँ । जहिलेसुकै रातीको खाना खाएर सुत्ने बेलामा फोन गर्ने मान्छेले आज यतिबेला किन फोन गरे ? मनमनै प्रश्न गर्दै फोन रिसिब गरेँ, “हजुर ” “के गर्दै छौ ?” उनले सोधे । “के गर्नु छ र ? जे गर्न भनी छोडेका थियौ ।” मनमा लाग्यो भनिदिँउँ । हिँड्ने बेलामा उनले भनेका थिए, “मीरा बुबाको मन नदुखाउनु । भने अराएको गरी बस्नु ।”

“हजुर ?” नबुझेर सोधे । “खरबारीमा छु । घाँस काट्न आएकी । अनि आज यतिबेला ?” “सुन न मीरा म के कम्पनी बन्द भयो । अर्को साता घर आउँदैछु क्या ।”

उनको कुरा सुनेर कुन्नि किन मन एकाएक भड्कियो । यस्तो भयो मानौँ सास नै बन्द हुन्छ । प्रतिक्रियामा मैले केही भन्नै सकिनँ । केही बोल्नै सकिनँ । म भन्न सक्दिनँ, यो खबरले मन रमायो कि चिन्तित भयो । म यो पनि भन्न सक्दिनँ यो मेरा लागि रमाउनुपर्ने विषय हो कि पीर मान्नुपर्ने । “मीरा, ए मीरा” मेरो लामो मौनतालाई चिर्दै उनले बोले ।

“अहिले फोन राख्नुस् । साँझ बोलौँला” भने र फोन काटेँ । फोन काटेपछि दुबै हातले खर समाएँ । आँखाबाट बर्बरी आँसु खसे । किन खसे आँसु खुसीले कि चिन्ताले म भन्न सक्दिनँ । मनमा छट्पटी भयो । उठुँ कि बसुँ भयो । कता कता चिटचिट पसिना आएझैँ भयो । पछ्यौराले हम्किएँ । म अचेत पनि थिइनँ र पूर्ण चेतना पनि थिएन । आखिर उनी फर्कि आउने खबरले म यतिबिघ्न किन आत्तिएँ मलाई थाहा छैन । के उनी फर्केर आउँदा मेरो खर्च गर्ने बाटो नै बन्द हुने भयो भन्ने चिन्ता हो त ? पक्कै पनि त्यसो होइन । मलाई पूरापूरा सम्झना छ हाम्रो बिहे भएको सात महिना भयो र यस बीचमा मैले न सासुससुरासँग खर्च मागेँ, न उनले पठाएको पैसा खर्च गरेकी छु ।

उनी धेरै चोटि दुबई जाने आउने गरेका मान्छे । हरेकपटक केही न केही रकम आफ्ना आमाबाबुसँग नबताई बैँकमा राख्ने गरेका रहेछन् । हिँड्ने बेलामा पूरै चेकबुकमा हस्ताक्षर गरेर गएका थिए र भनेका थिए, “मीरा खर्चको समस्या पर्‍यो भने निकाल्नु र खर्च गर्नु ।” तर मैले एउटा पनि चेक प्रयोग गरेकी छैन । उल्टै उनले मेरो नाममा पठाएको खर्च त्यही खातामा जम्मा गरेकी छु । आखिर यो छटपटी किन त ? म आफै अचम्म परेकी छु । केही बेरपछि मनलाई सम्हाल्ने प्रयास गरेँ । रित्तै घर जानु भएन “के भयो बुहारी ?” भनी सोधे के जवाफ दिनु सासु ससुरालाई ।

जाँगर नलागे पनि बिस्तारै हँसिया चलाएँ । मैले घाँसमा बिस्तारै हँसिया चलाइरहेकी थिएँ । मेरो मन आफै आफै चलिरहेको थियो । मेरो मनमा अनेक विचारहरू आइरहेका थिए । आखिर मैले प्रकाशलाई राम्रोसँग बुझ्न पनि त पाएकी छैन । उनी मेरा लोग्ने नै भए पनि कति दिन पो हामीले साथ बिताएका छौँ र । न प्रकाश मसँग राम्ररी खुल्न पाएका थिए न म नै उनीसँग राम्रोसँग खुल्न पाएकी थिएँ । बस चारदिन चार रात हामीले सँगै बिताएका थियौँ । चार रात पनि के भन्नु एक रात गीता दिदी लोकन्दी बनेर हामीसँगै एउटै कोठामा सुतेकी थिइन् । अर्को दिन बिहानै मेरो महिनाबारी भएको थियो । म तीनदिनको नुहाएरर आउँदा उनी हिँड्न ठिक्क परेका थिए । सायद मलाई त्यो अवस्थामा छोडी हिँड्नुको पीडा उनको अनुहारभरि थियो र मेरा आँखा रसाएका थिए । म उनको नजिक पर्न सकिनँ । साइत बिग्रिएला भन्ने चिन्ता थोरै थियो, धेरै चिन्ता थियो वियोगको । मलाई थाहा थियो बिहे भएको चार दिनमै उनी दुबई जानेछन् तर यो थाहा थिएन कि मेरो नियमित मिन्स प्रक्रिया पाँचदिन अगाडि सर्दैछ ।

मेरो कहिल्यै लाहुरेसँग बिहे गर्ने रहर थिएन । म भन्ने गर्थेँ, “एक महिना सँगै बितायो । तीन वर्ष छुट्टियो । त्यस्तो पनि जिन्दगी हुन्छ ! त्यस्तो पनि लोग्ने स्वास्नीको सम्बन्ध हुन्छ ?” तर नियतिमा त्यस्तै लेखेको रहेछ । भाग्यमा त्यस्तै रहेछ । अझ एक महिना पनि कहाँ हो र चार दिन सँगै बस्न लेखेको रहेछ पहिलो पटकमै । त्यो पनि सुहागरात नमनाई, लोग्ने स्वास्नीको शरीरिक सम्बन्धको अनुभवसम्म नगरी, एकान्तमा एक स्नेहको स्पर्शसम्म प्राप्त नगरी छोडेर गएका थिए प्रकाश मलाई । राती बिस्तारामा पुगेर जब प्रकाशको कोठामा एक्लै हुन्थेँ कति रोएँ हिसाबै भएन । बिहान उठ्दा आँखा सुन्निएका हुन्थे । ससुराले बुझेर होला तर भन्न नसकेर होला भन्नुहुन्थ्यो, “मीरा सन्चो भएन कि ? आँखा रसिला देखिन्छन् ।”

“होइन बुबा ठिकै छ । टाउको दुखेकोले होला ।” यसै भनेर मैले कुरा टिमालेकी थिएँ । प्रकाश दुबई पुगेर फोन गरे ।

उनले नियमित जस्तो फोन गर्न थालेपछि मनमा केही शान्ति मिल्यो । मैले प्रकाश बनेर आफैलाई सम्झाएँ । म त आफ्ना कारणले पीडित भएँ । प्रकाश त मेरा कारण पीडित भएका छन् । के बित्दो हो उनका मनमा । उनले फोनबाटै भनेका थिए चेकबुकको कुरा र खर्चको कुरा । आखिर किन गरे प्रकाशलले त्यसरी अन्तिम पारेर विवाह । किन गरेँ भैले प्रकाशसँग विवाह लाहुरे हुन् भन्ने जानेर पनि । मैले पछि सुनेकी थिएँ कि प्रकाश विवाह गर्ने तयारी गरेर तीन महिनाको विदामा नेपाल आएका थिए । यता आमाबुबाले छोराका लागि केटी हेरेर ठिक्क पारेका थिए । उनी मंसिरको प्रारम्भमा नेपाल आए मंसिरको अन्त्यमा विवाह गर्ने दुई महिना हनिमुन मनाउने र दुबई फर्कने योजनामा थिए उनी । तर उनीसँग विवाह गर्न ठिक पारिएकी केटी टिकोटालो गर्नुअगावै अर्कै केटासँग भागेपछि उनले सोचे अनुकूल भएन । र पनि प्रकाशका निम्ति अर्की केटी खोजी हुन थाल्यो ।

पढेका केटीहरू दुबईको लाहुरेसँग को बिहे गरोस् भन्थे रे । कोही केटामा खोट भएर नै केटी भागेकी हो भन्नेहरू पनि भेटिए रे । कुरा चल्दाचल्दै मंसिर बित्यो । पुसमा बिहे गर्ने कुरा भएन । माघको त प्रारम्भमै बिहे गर्ने भन्ने विचार थियो रे । भनेजस्तो भएन । “अब समय छैन अर्कोपटक आएर गरौँला बिहे” भन्न थालेका थिए रे प्रकाशले । यतिमै मेरा फुफाजुले कुरो लगेछन् । धेरैका धेरै विचारका बीचमा केटा केटी देखाउने भन्ने भयो । एकदिन फुफाजु र प्रकाश हाम्रो घरमा आए । भावीको लेखा भनौँ मैले पनि हुन्न भन्न सकिनँ । बिहे हुने भयो । बुबा “तयारीलाई समय चाहिन्छ पन्ध्र दिनपछि बिहे गरौँला” भन्दै हुनुहुन्थ्यो । प्रकाशले यसपाली मेरो समय छैन आगुसाल आएर गरौँला भन्दै थिए रे । फुफाजुले उनलाई एकान्तमा लगेर झपारेछन् र भनेछन् “अर्को सालसम्म यिनीहरू तँलाई पर्खेर बस्लान् ?”

यसरी छोटो समयमा हाम्रो बिहे भयो र एक अर्कालाई चिन्न नपाएरै प्रकाश दुबई गए । मैले उनलाई जति चिनेँ दुबई गएपछि मोबाइलमा हुने कुराकानीकै आधारमा चिनेकी हुँ । हो आज जब अचानक उनले फोन गरेर भने, “मीरा म अर्को साता आउँदैछु ।” मलाई कताकता काउकुती लाग्यो, छट्पटी भयो । आँखाबाट आँसु खसे । मनमा यस्ता अनेक विचारहरू खेल्दै रहे । शृङ्खलाहीन भएर कति कुरा मनमा आए गए । भारी पुगेछ । थाहै भएन । भारी लिएर घर पुगेँ । साँझ परिसकेको थियो । सासु भान्सामा खाना बसाल्ने सुरसारमा हुनहुन्थ्यो । ससुरा गोठको काममा । घरभित्र परेपछि ससुराले सोध्नुभयो, “मीरा प्रकाशले फोन गरेको थियो ?” यो कस्तो प्रश्न हो । उनी बाक्लै फोन गरिरहन्छन् । मलाई पनि र आमाबालाई पनि । मनमनै सोँचिरहेकी थिएँ । सासुले केही आवेश र आक्रोशमा भन्नुभयो, “किन गरेन होला र यिनैले आऊ भनेर त होला नि ।” मैले बुझिहालेँ । आमाबालाई पनि फोन गरेर सुनाएका रहेछन् ।

“चुप लाग् । कतिबेला के बोल्ने हो भन्ने पनि थाहा छैन ।” ससुराले सासुलाई हप्काउँदै भन्नुभयो । “ऐले दुबईमा धमाधम कम्पनी बन्द भएर अरु पनि फर्किरहेका छन् । त्यसैमाथि बोलाएकै भए पनि के फरक पर्छ त । बिचरा बिहे गरेर सँगै बस्न पनि पाएका छैनन् । एक अर्कोलाई राम्ररी चिन्न बुझ्न पनि पाएका छैनन् । मलाई त आफै बोलाउँबोलाउँ भन्ने लागेको थियो । राम्रै भयो फर्किने भो ।” सासुको रुखो बोलीले चसक्क मन बिझेको थियो । मन दुःखेको थियो । आफूले सोच्दै नसोँचेको, गर्दै नगरेको कुराको आरोप लगाउँदा मन नदुख्ने कुरा पनि त भएन । मनमा पीरो गाँठो परेको थियो । पानीको गाँठो रहेछ क्यारे । जब ससुराले सासुलाई हप्काउँदै मप्रति सहानुभूति प्रकट गर्नुभयो । त्यो पानीको गाँठो फुट्यो र भलभली आँखाबाट खस्यो । कसैको माया र सहानुभूतिले पनि यसरी आँसु खस्दोरहेछ आज थाहा पाएँ ।

“आओस् दुईचार महिना घरमा बसोस् । फेरि अर्को प्रोसेस गरौँला । अझ राम्रो देशको प्रोसेस गरौँला ।” ससुरा भन्दै हुनुहुन्थ्यो । सासुले कुनै प्रतिक्रिया दिनु भएन । भान्सा गरेर सासुससुरा बिस्तारामा गएपछि मैले सफाइ गर्न थालेँ । पटक्कै जाँगर थिएन । मनमा विचारहरूको द्वन्द्वले बाढी ल्याएको थियो । किन फर्किएका हुन् प्रकाश ? के साँच्चै कम्पनी बन्द भएको हो त ? कि बहाना बनाएका हुन् उनले । सासुले कस्तो पाप चिताएकी । ससुराले कति सहानुभूति प्रकट गरे । सारा काम सिध्याएर अबेर राती कोठामा गएर बिस्तारामा पल्टिएँ । बत्ति निभाउने मन थिएन । भित्तामा झुण्डिएका प्रकाशका तस्वीरहरूले मलाई नै टुलुटुलु हेरिरहे जस्तो लाग्यो । मलाई लाज लाएर आयो । प्रकाशको तस्विरसँग यसरी लाज लाग्छ भने प्रकाश कोठामा हुँदा के हाल होला मेरो ? सम्झेर झनै लाज लाग्यो । प्रकाश एक्लै बसेको कोठामा म कसरी छिर्नु ? झन् बढी लाज लागेर आयो । उनका तस्विरहरूले अझ बढी घुरेर हेरे जस्तो लाग्यो । मलाई जिस्क्याइरहेको जस्तो लाग्यो । म लाजले खुम्चिएँ । त्यही लाजबाट बच्न हतपत बत्ती निभाएँ ।

सम्झना आयो दिउस मैले केही नबोली प्रकाशको फोन काटेकी थिएँ । त्यसैले अब उनी पक्कै फोन गर्नेछन् । सम्झेर झन् अप्ठेरो लाग्यो । “हे भगवान उनको फोन नआओस्” मनैमन कामना गरिरहेँ । तर गरिहाले भने ? एक मन त लाग्यो मोबाइल स्वीचअफ गरिदिउँ । फोन हातमा उठाएँ पनि, तर त्यसो गर्न पनि सकिनँ । अँधेरो कोठामा धेरैपटक कोल्टे फेरेँ । निद लाग्ने सङ्केत नै थिएन । शरीर र मन सँगसँगै छट्पटाइरहेका थिए । सिरक ओढ्थेँ हपहपी गर्मी हुन्थ्यो । खलखली पसिना आउँथ्यो । सिरक हुर्‍याएँ केही क्षणमै थुरुथुरु मुटु काम्थ्यो तर जाडो थिएन । भदौको महिना, पानी परेको थिएन । शंका लाग्यो कतै ज्वरो आएको त होइन ? निधार छामेँ । ठिक्क थियो । न ज्यादा तातो न चिसो ।

छट्पटिँदा छट्पटिँदै कतिबेला निद्रा परेछ ध्यानै भएन । संयोग प्रकाशले त्यस रात फोन पनि गरेनन् । मनमा जतिसुकै छटपटी भए पनि आफ्ना नियमित कार्य गरिरहेँ । जतिजति प्रकाश घर आउने दिन नजिकिँदै थियो मन उतिउति अस्थिर हुँदै थियो । सम्झियो कि मन भसङ्ग भएर आउँथ्यो “ला ! अब कसो गर्ने होला ?” त्यसैबीच एकदिन ससुराले भन्नुभयो “आज प्रकाश काठमाडौं आइपुग्छ ।” सुनेर मन भुक्क फुलेर आयो । शरीरमा कहाँकहाँ झन्न झन्का छुटेझैँ भयो । सम्झेँ साँच्चै यस बीचमा प्रकाशले मलाई एकपटक पनि फोन गरेनन् त । साँच्चै प्रकाशले मलाई किन फोन गरेनन् ? कतै त्यस दिन मैले फोन काटेकोले रिसाएका त छैनन् ? साँच्चै त्यसैदिन साँझ नयाँ नम्बरबाट फोन आयो । म भर्खर घरको काम सिध्याएर कोठामा पुगेकी थिएँ । बिस्तारामा जान पनि भ्याएकी थिइनँ । कसले फोन गर्‍यो यतिबेला ? मनमनै यही सोँच्दै रिसिब गरेँ, “मीरा !” उनैको आवाज । सुनेर अचम्मको अनुभूति भयो । कस्तो असहज । आखिर किन ? “के गर्दै छौ ?” प्रश्न गरे । “हजुर ?” नबुझे झैँ मसिनो आवाजमा बोलेँ । म जहाँ उभिएकी थिएँ त्यहीँ उभिइरहेँ स्थीर ।“के गर्दै छौ ? भनेको” उनले प्रश्न पुनः दोहोर्‍याए । “सुत्न लागेको ।” मेरो उत्तरमा पर्याप्त सङ्कोच र भय थियो । सायद उनले अनुभूति गरे बोलीबाट र त सोधेका थिए “के सन्चो छैन ?” “सन्चै छु ।” यतिमात्र भनेकी थिएँ उत्तरमा । मलाई लाग्छ उनलाई लामो कुरा गर्ने रहर हुँदो हो । अर्को दिन प्रत्यक्ष भेट्न पाइने भएर पनि उनलाई न्यास्रो लागेको हुँदो हो, तर मेरो बोली सुनेर उनले भने “म काठमाडौं आइपुगेँ मीरा । भोलि साँझसम्म घर आइपुग्छु । ल सुत अब भोलि भेट हुन्छ ।” उनको “अब भोलि भेट हुन्छ” भन्ने अभिव्यक्ति यतिविघ्न असहज लाग्यो कि म त्यसलाई व्यक्त गर्न सक्दिनँ ।

उनी घर आइपुग्दा म बारीमा थिएँ । सासुले बोलाउनुभयो “मीरा छिटो घर आऊ ।” मैले बुझेँ पक्कै प्रकाश आइपुगे । साँच्चै म कसरी उनका सामु पुग्नु ! के गर्नु अगाडि पुगेर ? के भन्नु ? मलाई आफ्नै घर जान पनि ज्यादै अप्ठेरो लाग्यो जहाँ म सात महिना अगाडि भित्रिएकी थिएँ । जहाँका हरेक वस्तुसँग मेरो अपनत्व थिए, तर जसका कारण यो साइनो गासियो आखिर उही किन यति असहज बनिरहेछ ? जे भए पनि घर त जानु नै थियो गएँ । उनी बरन्डामा थिए । नजिकै दुईवटा ठूलाठूला सुटकेश र एउटा सानो ब्याग । छिमेकका केही केटाकेटी र बुढापाका जम्मा भएका थिए । बजारबाट उनकै साथीहरू छोड्न आएका रहेछन् । “भाउजू नमस्कार” भने । मलाई उनीहरूलाई नमस्कार फर्काउन पनि अप्ठेरो लाग्यो । ‘भाउजू’यो शब्दले मलाई सम्बोधन गर्न लागेको सात महिना भयो तर आज यस्तो लाग्छ पहिलोपटक कोही मलाई ‘भाउजू’भन्दैछ । मैले नमस्कार त फर्काएँ तर उनीहरूको मुखमा हेर्न सकिनँ । न त प्रकाशलाई नै हेर्न सकेँ । म हतपत घरभित्र पसेँ । यो काम पनि मैले योजनाबद्ध तरिकाले गरेको होइन जस्तो लाग्छ । अचानकै भयो । भित्र पसेर सासुलाई भान्साको काममा सघाउन थालेँ । सासु चिया बनाउँदै हुनुहुन्थ्यो । मलाई चिया लैजान नभने हुन्थ्यो भन्ने लाग्यो । धन्न सासुले आफै लैजानुभयो । चिया पिएर उनका साथीहरू विदा भए ।

साँझ परेकोले छिमेकका नानीबाबुहरू पनि आआफ्नो घरतिर लागे । सुटकेसहरू कोठामा राखेर ससुरा र प्रकाश भान्सामा पसे । प्रकाशले बुबाआमासँग अनेक कुरा गरे । गाउँको हालखबर सोधे । कम्पनी बन्द हुनुको कारण बताए । मैले ध्यान दिएकी थिएँ प्रायः उनको नजर मतिर नै थियो । मैले भने एक नजर उनको मुखमा हेर्न सकेकी थिइनँ । खाना खाएर सासुससुरा सुत्न जानुभयो । प्रकाश पनि कोठामा निस्किए । मैले नियमित रात्रीकालीन कामधन्दा गर्न थालेँ । हात त एकसुरमा काम गरिरहेको थियो तर मन ? मन भने यही सोँच्दै थियो कि म अब कसरी जानु त्यो कोठामा जहाँ प्रकाश एक्लै छन् । राती केही ढिलो गरेर म कोठामा गएँ भारी पाइला चालेर । ढोका उघार्दा आवाज नआओस् भनेर सुस्तरी उघारेँ । के भन्लान् थाहा पाए भने सासुससुराले ? के गर्दै होलान् प्रकाश कोठाभित्र ? आजको यो अनुभव मेरा लागि त्यस्तै असहज थियो । जस्तो हरेक नारीलाई विवाहपछिको पहिलो रात कोठामा प्रवेश गर्दा हुँदो हो सायद ।

कोठामा छिर्दा प्रकाश निदाएका थिए । मलाई केही सहज लाग्यो । बिस्तारै दिउँसो काम गर्दा लगाउने कपडा फेरेँ र सुत्दा लगाउने लुगा लगाएँ । प्रकाशले थाहा नपाउन् भन्नेमा पूरा सचेत थिएँ म । हेङ्गरमा मेरा कपडामाथि नै प्रकाशले आफ्ना कपडा राखेका रहेछन् । छि ! कस्तो असहज लाग्यो । एनकेन कपडा त फेरेँ तर हाम्रो कोठामा पलङ एउटै छ । म कहाँ सुत्नु ? प्रकाश सुतिरहेको पलङमा कसरी सुत्नु ? यही विचार मनभरि उठिरहेको थियो प्रकाशले आँखा खोले र भने “मीरा आयौ ?” उनको बोलीले ज्यानै सिरिङ्ग भयो । म मौन रहेँ ।

“आउ बस ।” यति भन्दै उनले मेरो पाखुरामा समाए र आफू नजिक ताने । उनको त्यो हातको स्पर्शले मनको धड्कन बढ्यो । मैले प्रकाशलाई हेर्न पनि सकिनँ । आँखा तल झुकेका थिए । प्रकाशले मेरो शिर उठाउँदै भने “मीरा किन लजाएकी ?” मैले एकपटक आँखा उठाएर उनलाई हेरेँ तर हेरिरहन सकिनँ । मैले आँखा चिम्म गरेँ । मलाई लाग्यो प्रकाश बिस्तारै म निकट आइरहेका छन् । उनको मुखबाट निस्किएको तातो सास मेरो मुख नजिक स्पर्श गर्दै थियो । मैले थाहा पाएँ प्रकाशको ओठ मेरो ओठसँग जोडिन पुग्यो । बिस्तारै उनले ओँठ खोले । मेरा दुवै ओँठ उनका दुई ओठका बीचमा थिए । एकप्रकारको तातो र गिलोपन मेरा ओँठले महसुस गर्दै थिए । मैले आफ्ना हातले प्रकाशलाई पर सार्न चाहेँ तर बल गर्न सकिनँ ।

उनी मेरो दुवै गाला आफ्ना हातले सुमसुम्याउदै थिए र आफ्नो मुख मेरो मुखसँग निकट तुल्याउँदै थिए । बिस्तारै आफ्नो मुख मेरो कान नेर पुर्‍याएर प्रकाशले “मीरा” भने । मेरो मुखबाट अनायास लामो हुँ… निस्कियो । म भय, लाज र सङ्कोचले आफैभित्र सिकुडिएकी थिएँ । पलङको बारमा म यसरी दपेटिएकी थिएँ मानौ त्यसैमा बिलय हुँदैछु । त्यसपछि प्रकाशले के के भने, के के गरे मलाई केही पनि होस रहेन, चेत रहेन । अलिअलि सम्झन्छु कताकता दुखे जस्तो, त्यही दुखाइभित्र एकप्रकारको आनन्द आएजस्तो लागेको थियो, बेहोसीमै पनि । प्रकाशको स्पर्शले शरीर थरथर कामेको पनि सम्झन्छु । छाती फुलेर हो वा पीडाले हो सुन्निर सधैभन्दा ठूलो भएको जस्तो पनि लाग्छ । के के भयो ममा केही चेतना रहेन । म बेहोस त थिइनँ तर चेतना पनि थिएन । म अलिअलि सम्झन्छु प्रकाशलाई आफूबाट धकेलेर टाढा बनाउन चाहन्थेँ तर अचम्म आफ्नै अँगालोमा यसरी बेरेकी थिएँ कि उनले छुट्न चाहेर पनि सक्दैनथे ।

प्रकाशले यो के गरिरहेका थिए ? मलाई केही थाहा थिएन । उनले यसरी मसँग कतिबेर खेले त्यो पनि मलाई होस छैन । कतिबेला उनी निदाएछन् त्यो पनि मलाई थाहा छैन । राति एक्कासी मेरो निद्रा खुल्यो । निद्रा खुल्दा कोठाको बत्ती बलेकै थियो । प्रकाश अहिले पनि मेरो अँगालोमा थिए । मलाई महसुस भयो सिरकभित्र उनी र म प्रायः निर्वस्त्र छौँ । उनी मस्त निद्रामा छन् । मलाई उनीसँग कुनै लाज लागेन, कुनै सङ्कोच लागेन । लाग्यो उनलाई एकोहोरो हेरिरहुँ । लाग्यो एकनास उनको मुहारमा चुमिरहुँ ।

मन थाम्न नसकेर मैले एकपटक प्रकाशलाई चुमेँ । उनीले थाहा पाएछन् । आँखा खोले । हामी दुवै एक अर्कोलाई हेरेर मुस्कुरायौँ । प्रकाश फेरि चञ्चल देखिन थाले । यसपटक प्रकाशको चञ्चलतालाई सायद मैले पनि निसङ्कोच साथ दिएँ ।

प्रकाशित मितिः   २०८१ बैशाख २९ at 7:00 am 

  • कमेन्ट (Comment)