विद्यालयलाई उत्पादन केन्द्र बनाउने उद्धोष: मुगुका विद्यार्थी र युवाले प्रस्तुत गरे हरित उद्यम योजना

मुगुको  छायानाथ रारा नगरपालिका, मुगुका युवाहरूले स्थानीय विद्यालय र गाउँलाई उत्पादन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिएका छन्। कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (CDS-PARK) मुगुले आयोजना गरेको पाँच दिने सक्रिय नागरिक हरित युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रमको अन्तिम दिन, सहभागीहरूले विद्यालयमै अर्गानिक तथा वातावरणमैत्री उत्पादन गरेर ‘पढ्दै कमाउँदै’ गर्ने अवधारणा सहित विभिन्न व्यवसायिक योजना प्रस्तुत गरे।

गमगढीस्थित चार विद्यालयका कक्षा १० सम्मका ८ विद्यार्थी र १२ जना युवा सहजकर्ताले विद्यालयमै फूल, चुली, कागती, बेसार, तरकारी तथा ओखर खेती, नर्सरीजस्ता साना उद्यम सञ्चालन गरी अध्ययन खर्च व्यवस्थापन गर्न सकिने विश्वास व्यक्त गरे। उनीहरूले विदेशको विकल्प देशमै सम्भावना खोज्दै हरित उद्यममा सक्रिय हुने प्रतिबद्धता जनाए।

समापन कार्यक्रममा छायानाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्य मल्लले आउँदो असारमा युवाहरूको योजना कार्यान्वयनमा नगरपालिका सहयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले विदेशमा नेपालीले भोग्नु पर्ने दुःख र पीडाको चर्चा गर्दै, देशमै उद्यम गर्नुपर्ने आवश्यकता औंल्याइन्।

प्रशिक्षक युवराज चापागाईंले हिमाली क्षेत्रमा देखिएको वातावरणीय प्रभावबारे चेतावनी दिँदै भने, “मुगुमा लामखुट्टे आइपुग्यो, सेता हिमाल कालो हुँदै गएका छन्।” उनले हरित उद्यम नै दिगो समाधान भएको बताए।

CDS-PARK का संस्थापक कार्यकारी निर्देशक अज बहादुर शाहीले देशमै उद्यम गर्न सक्ने युवाशक्ति कम हुनु दुखद भएको उल्लेख गर्दै, “स्थानीय स्रोत-साधनको सदुपयोगबाट वातावरणमैत्री उत्पादन गर्दै देश समृद्धितर्फ लैजान सकिन्छ,” भने।

प्रशिक्षणको प्रारम्भिक दिन, हरित उद्यममा सक्रिय तीन युवा उद्यमीले आफ्ना अनुभव बाँडे। स्याउका बेर्ना र कलमीका बारेमा मरिचन्द्र भाम, बेमौसमी तरकारी खेतीबारे हेमन्त रोकाया र लालिगुराँसबाट जुस उत्पादनबारे हरि किसन बिष्टले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।

रारा होराइजन होटलमा सम्पन्न प्रशिक्षण कार्यक्रम स्कुल लाइफ नेपाल, डेनमार्कको आर्थिक सहयोगमा र छायानाथ रारा नगरपालिकासँगको समन्वयमा सफलतापूर्वक सम्पन्न भएको हो।

प्रकाशित मितिः   २०८२ बैशाख १० at 8:25 pm 

  • कमेन्ट (Comment)