आगामी २०८२ बैशाख १० गतेदेखि २१ गतेसम्म १२ गते सम्म जुम्लाको सिंजा गाउँपालिकामा भव्य महोत्सव सञ्चालन हुने भएको छ। उक्त गाउँपालिका स्थित चुलेल गाउँ, चाँगामा “सिंजा महोत्सव २०८२” हुने भएको हो।
सिंजा संचार केन्द्रको आयोजनामा र सिंजा गाउँपालिकाको संरक्षणमा हुने यो महोत्सवले सिंजाको अद्वितीय भाषा, संस्कृति, कृषि, पर्यटन र व्यापारको प्रवर्द्धन गर्ने लक्ष्य लिएको हो।
महोत्सवमा खस भाषा, संस्कृति र सभ्यताको प्रचार–प्रसार, जुम्लाको प्रसिद्ध कृषि उपज—मार्सी धान, स्याउ, सिमी, ओखर र रैथाने बालीहरूको प्रदर्शन, ऐतिहासिक स्थलहरू—कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफा, भैरवनाथ, केदारनाथ, हिमनदीहरू तथा सिजा उपत्यकाको पर्यटन प्रवर्द्धन गरिनेछ।
महोत्सवमा सिंजाको मौलिक भेषभूषा, जीवनशैली, मस्टो संस्कृति र परम्परागत ज्ञानको संरक्षण तथा प्रदर्शन पनि समावेश गरिने भएको छ। १२ दिनसम्म चल्ने उक्त उत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, विविध वस्तुहरूका स्टल र मनोरञ्जनात्मक खेलहरू समेत सञ्चालन गरिनेछ।
सिंजा क्षेत्रमै पहिलोपटक यति ठूलो स्तरमा आयोजना हुन लागेको यो महोत्सवले सम्पूर्ण देशवासीलाई आमन्त्रण गर्दै साझा हर्षको उत्सव मनाउन र सिंजालाई चिनाउन अपिल गरेको छ।
महोत्सवको व्यवस्थापन भावना एम्युजमेन्ट प्रालिले गर्नेछ र यो कार्यक्रमले स्थानीय अर्थतन्त्र, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। आउनुहोस्, सिंजा महोत्सव २०८२ मा सहभागी भइ साझा संस्कृतिको रंगमा रमाऔं
कनका खबर । २०८१ चैत्र ३०