तातोपानी गाउँपालिकामा एकीकृत पूर्वाधार विकास अन्तर्गत तीन विद्यालयमा निर्माण कार्य सुरु

जुम्ला  तातोपानी गाउँपालिकामा शिक्षा क्षेत्रमा पूर्वाधार सुदृढीकरणका लागि एकीकृत पूर्वाधार विकास योजना अन्तर्गत तीन वटा विद्यालयमा निर्माण कार्य सुरु गरिएको छ। कुल लागत करिब ९८ लाख रुपैयाँ बराबरको यस योजनालाई गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंको विशेष पहलमा अघि बढाइएको हो।

तातोपानी गाउँपालिकाभित्रको नेत्र ज्योति माध्यमिक विद्यालय, हाकुमा फिल्ट निर्माण, कालिका आधारभूत विद्यालय, हियाखोलामा नयाँ भवन निर्माण, र दुर्गा माध्यमिक विद्यालय, लाम्रामा प्याराफिट निर्माणको काम यो योजनाअन्तर्गत गरिनेछ। गाउँपालिकाको सक्रियतामा सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, जुम्लाबाट सार्वजनिक टेन्डर आह्वान गरी निर्माण कार्य प्रिन्सा निर्माण सेवाले पाएको हो।

गाउँपालिका अध्यक्ष चौलागाईंले स्वयम् उक्त योजना सिलान्यास गर्दै शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार सुदृढीकरण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार गाउँपालिकाका अन्य विद्यालयहरूमा पनि आगामी दिनहरूमा यस्तै योजनाहरू विस्तार गर्दै लैजाने तयारी भइरहेको छ।

प्रीन्सा निर्माण सेवाका सञ्चालक दिपराज धितालले कम्पनीले जिम्मेवारीपूर्वक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै तोकिएको म्यादभित्रै गुणस्तरीय ढंगले निर्माण कार्य सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो।

विकट ग्रामीण भेगमा शिक्षाका लागि न्यूनतम भौतिक पूर्वाधार उपलब्ध गराउन सुरु गरिएको यो अभियानले विद्यार्थीहरूलाई सुरक्षित र सुविधायुक्त वातावरणमा अध्ययन गर्ने अवसर दिनेछ। यसले शिक्षण सिकाइ प्रक्रियामा प्रत्यक्ष सुधार ल्याउने अपेक्षा गरिएको छ।

तातोपानी गाउँपालिका यसअघि पनि शिक्षा, स्वास्थ्य, सडक र अन्य पूर्वाधार क्षेत्रका विभिन्न विकास योजनाहरू कार्यान्वयन गर्दै आएको छ। समुदायको सहभागिता र स्थानीय नेतृत्वको समन्वयमा सञ्चालन भइरहेको यस्ता योजनाहरूले गाउँपालिकामा सकारात्मक परिवर्तन ल्याउन थालेको स्थानीयवासीहरू बताउँछन्।

अध्यक्ष चौलागाईंले आगामी दिनहरूमा पनि यस्तै योजनाहरूलाई प्राथमिकता दिँदै शिक्षा क्षेत्रमा समावेशी र सुदृढ पूर्वाधार विकासमार्फत तातोपानी गाउँपालिकालाई समृद्ध र सक्षम बनाउने लक्ष्य लिएको जानकारी दिनुभयो।

प्रकाशित मितिः   २०८१ चैत्र २५ at 9:20 pm 

  • कमेन्ट (Comment)