हुम्लाको नाम्खामा स्वास्थ शिविर सुरु

हुम्लाको नाम्खा गाउँपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा स्वास्थ्य शिविर सुरु भएको छ। विकट क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य रहेको दुई दिने स्वास्थ्य शिविर सुरु भएको हो।

७५ वर्षीय छिरिङ गिमा लामा शिविरमा आँखाको उपचारका लागि एक दिनको पैदल यात्रा गर्दै आएका छन्। आँखा समस्या भोगिरहेका उनले यो शिविरबाट राहत पाउने आशा गरेका छन्।

उनीजस्तै धेरै स्थानीयका लागि उपचारको लागि लामो दूरी तय गर्नु चुनौतीपूर्ण छ। दुर्गम गाउँबस्तीमा स्वास्थ्य, आर्थिक स्थिति र भौगोलिक कठिनाइले गर्दा धेरैको लागि ठूला स्वास्थ्य समस्या हुँदा पनि उपचार असम्भवजस्तै बनेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नाम्खा गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको शिविरमा, बिहानैदेखि सेवाग्राहीहरूको घुँइचो लागेको थियो। ६ वडामा विभाजित यस गाउँपालिकाका ८०० भन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाका अनुसार यो शिविरले स्वास्थ्य सेवाको तत्काल आवश्यकता पुरा गरे पनि दीर्घकालीन रूपमा यस्ता क्षेत्रमा स्वास्थ्य सेवामा सुधारको आवश्यकता छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले विकट क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन यस्ता शिविरले सहयोग गर्ने बताए।

यो शिविरले विकट गाउँबस्तीमा रहेका समस्याहरू उजागर गर्नुका साथै सरकारले स्थानीय स्तरमा स्वास्थ्य सेवामा सुधारका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता पनि देखाएको छ।

प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतका अनुसार, यसले स्वास्थ्यका क्षेत्रमा दीर्घकालीन र प्रभावकारी कार्यक्रमहरू आवश्यक रहेको पुष्टि गरेको छ।

प्रकाशित मितिः   २०८१ कार्तिक २० at 9:46 am 

  • कमेन्ट (Comment)