माननीय ज्ञानबहादुर शाहीका अभिव्यक्ति पार्टीको आपत्ति, कडा कदम चाल्ने चेतावनी

जुम्ला- संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि केही व्यक्तिहरूले स्वतन्त्रताको गलत प्रयोग गर्दै सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि गरिरहेको भन्दै पार्टीले गम्भीर आपत्ति जनाएको छ। पार्टीको ध्यानाकर्षणको विषय बनेका प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले सार्वजनिक कार्यक्रमहरूमा दिएको अभिव्यक्तिलाई लिएर पार्टीले कडा प्रतिक्रिया दिएको छ।

 

पार्टीले शाहीमाथि संविधान विरोधी, तथ्यहीन र अश्लील टिप्पणीहरू गर्दै सामाजिक सद्भाव बिगार्ने प्रयास गरेको आरोप लगाएको छ। विज्ञप्तिमा शाहीले सिन्जा सभ्यता विधेयकबारे झूठो प्रचार गरेको, प्रमुख नेता तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई ‘हत्यारा’ को संज्ञा दिएको, जनप्रतिनिधिहरूप्रति अपमानजनक शब्दावली प्रयोग गरेको, र जिल्लाका गौरवमय संस्थाहरू प्रति जनताको विश्वास घटाउने प्रयास गरेको उल्लेख छ।

 

विधेयक र संस्थामाथिको विवाद

 

पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि शाहीले सिन्जा सभ्यता विधेयकलाई लिएर गलत जानकारी प्रवाह गरिरहेका छन्। उनको दाबीअनुसार विधेयकलाई क्याबिनेटले शैद्धान्तिक सहमति दिएको कुरा असत्य रहेको र उनले यसलाई प्रचारबाजीको रूपमा प्रस्तुत गरेको पार्टीको आरोप छ। साथै, शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लिएर अनावश्यक नकारात्मकता फैलाउँदै स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने प्रयास गरेको उल्लेख गरिएको छ ।

 

पार्टीले शाहीको गैरसंवैधानिक गतिविधि र अभिव्यक्तिहरूमा रोक नलगाए कडा कदम चाल्ने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ कि परिस्थितिमा असामान्य अवस्था उत्पन्न भए, त्यसको सम्पूर्ण जिम्मेवारी शाही आफैँले लिनुपर्नेछ। स्थानीय जनताले पनि शाहीका टिप्पणीहरूप्रति असन्तोष व्यक्त गरेका छन्।

 

अब कर्णालीका जनताले यस घटनालाई कसरी लिन्छन् र यसले आगामी राजनीतिक परिदृश्यमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा सबैको ध्यान रहेको छ।

 

प्रकाशित मितिः   २०८१ कार्तिक १६ at 3:30 pm 

  • कमेन्ट (Comment)