जुम्ला उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको पाँचौँ जुम्ला कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव–२०८३ का सम्बन्धमा केही दिनअघि सामाजिक सञ्जालमा सार्वजनिक गरिएको कलाकारसम्बन्धी पोस्टर प्राविधिक कारणवश अपूर्ण अवस्थामा पोस्ट हुन गएको भन्दै क्षमायाचना गरेको छ।
उद्योग वाणिज्य संघ जुम्लाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको क्षमायाचना तथा अनुरोधमा महोत्सवमा सहभागी हुने सम्पूर्ण कलाकारहरूको पूर्ण सूची पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकिएको जनाएको छ।
महोत्सवको तयारी तथा व्यवस्थापनका क्रममा काम गर्दै जाँदा मानवीय वा प्राविधिक कारणले केही त्रुटि हुन सक्ने भन्दै संघले त्यस्ता त्रुटि सच्याउने अवसर प्रदान गरिदिन सम्पूर्ण जुम्लावासी तथा शुभेच्छुकहरूलाई अनुरोध गरेको छ।
संघले जुम्ला महोत्सव कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई सम्पूर्ण जुम्लावासीको साझा महोत्सव भएको स्पष्ट पारेको छ। स्थानीय कलाकारलाई अझै सम्मान र प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै संघले महोत्सव स्थानीय कलाकारहरूको पनि आफ्नै महोत्सव भएको उल्लेख गरेको छ।
जुम्लाका सम्पूर्ण स्थानीय कलाकारहरूको पोस्टर तयार गर्ने कार्य भइरहेको र पोस्टर तयार भएपछि क्रमशः सार्वजनिक गरिने संघले जनाएको छ।
महोत्सवलाई अझ राम्रो, व्यवस्थित र सफल बनाउन प्राप्त हुने सकारात्मक सुझाव, सल्लाह तथा रचनात्मक आलोचनालाई सदैव सम्मानका साथ ग्रहण गर्ने बताउँदै संघले आगामी दिनमा हुने त्रुटि तथा कमजोरी सुधार गर्दै अघि बढ्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गरेको छ।










कनका खबर । २०८३ साउन ११