तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, कम्तिमा १६ जनाको मृत्यु, ३२ घाइते

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोट लागेको छ । शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन् ।

भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

उद्धार तथा राहतका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । त्यसैगरी, क्षेत्रीय अग्नि तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा ३४७ जना जनशक्ति खटाएको छ ।

प्रकाशित मितिः   २०८३ कार्तिक ७ at 7:45 am 

  • कमेन्ट (Comment)