देवानगञ्जवासीले गृहमन्त्री खोजे, गृहमन्त्रीले पीएलाई पठाए

चोकमा राखिएको झण्डालाई लिएर सुरु भएको विवाद झडपमा परिणत भएपछि आइतबार रातिदेखि सुनसरीको देवानगञ्ज क्षेत्र तनावग्रस्त छ । गाउँ तहमा देखिएको तनाव साम्य पार्न स्थानीय प्रशासनले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । हाल अप्रिय घटना भने नभए पनि दुवै पक्षबीच असन्तुष्टि र तनाव कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ । देवानगञ्जमा देखिएको तनावको प्रभाव मधेशका केही अन्य जिल्लासम्म पनि देखिएको छ ।
देवानगञ्जको अवस्था सामान्य बनाउन स्थानीयले राजनीतिक नेतृत्वको उपस्थितिको माग गरेका छन् । देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार स्थानीयले गृहमन्त्री घटनास्थलमै आएर समस्या सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।

देवानगञ्ज–३ का स्थानीय शिवकुमार यादवले पनि गाउँको अवस्था सामान्य बनाउन गृहमन्त्री तथा प्रधानमन्त्रीको उपस्थितिको अपेक्षा रहेको बताए ।

हालसम्म गृहमन्त्री घटनास्थलमा नपुगे पनि उनले आफ्ना प्रमुख स्वकीय सचिव (पीए) जेम्स कार्कीलाई भने देवानगञ्ज पठाएका छन् । कार्कीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका स्वकीय सचिव पारश क्षेत्री पनि पुगेका छन् ।

मंगलबार बेलुका सुनसरी पुगेका उनीहरू ड्रोनसहित देवानगञ्ज क्षेत्रमा पुगेका थिए । बुधबार पनि उनीहरूको टोलीले घटनास्थलको अनुगमन गरेको थियो ।
बुधबार बेलुका बसेको सर्वपक्षीय बैठकमा कार्कीले गृहमन्त्रीको प्रतिनिधित्व गर्दै सरकारका तर्फबाट धारणा राखेका थिए । उनले गृहमन्त्री र प्रधानमन्त्री बालेन शाह घटनाप्रति गम्भीर तथा चिन्तित रहेको र समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
बैठकमा गाउँपालिका अध्यक्ष मेहताले भने केन्द्रीय नेतृत्व गाउँमै आएर वास्तविक अवस्था बुझ्नुपर्ने धारणा राखे । ‘गाउँमा आएर वास्तविक अवस्था बुझ्नुपर्छ । काठमाडौंमा बसेर मात्र हुँदैन, घटनास्थलमै पुगेर कुरा गर्नुपर्छ,’ उनले भने, ‘चार दिन भइसक्यो, मन्त्रालयबाट जनताले के सुविधा पाए ? सरकारले के गर्‍यो ?’
घटना भएको समयमा गृहमन्त्रालयका प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीले आफ्नो फोन नउठाएको आरोप लगाउँदै उनले असन्तुष्टि जनाए । ‘पालिका अध्यक्षले फोन गर्दा पनि प्रमुख जिल्ला अधिकारीले नउठाउने हो भने जनताले सरकारको अनुभूति कसरी गर्ने ?’ उनले प्रश्न गरे ।
उनले सरकारका प्रतिनिधिलाई घटनास्थलमै पुगेर स्थानीयसँग संवाद गर्न आग्रह गरे । त्यसक्रममा कार्कीले आफू संवाद गर्नकै लागि आएको र अब समाधानतर्फ केन्द्रित हुनुपर्ने बताएका थिए ।

प्रकाशित मितिः   २०८३ साउन १४ at 9:39 am 

  • कमेन्ट (Comment)