डोल्पामा कार्यरत जुम्लाका प्रहरी हवल्दार अनिल बुढा ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ बाट सम्मानित

कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी सहायक हवल्दार अनिल बुढालाई ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’बाट सम्मानित गरेको छ ।

सांगठनिक नीति निर्देशन पालना गर्दै जिम्मेवारी उच्च मनोबलका साथ सम्पन्न गरेको, प्रहरी सेवामा निष्ठा एवं कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै बुढालाई २०८३ साल असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरीका रूपमा छनोट गरी सम्मान गरिएको हो ।

सम्मानपत्रमा उल्लेख भएअनुसार, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ८ त्रिपुराकोटस्थित ग्यारेज सञ्चालन गरी बस्ने हरिबहादुर विकको शरीरको खानतलासी गर्दा लागुऔषधजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको घटनामा बुढाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै, नगरपालिका ४ स्थित सामुदायिक वनको झाडीभित्र बेवारिसे अवस्थामा रहेको बन्दुकको नाल, एक थान पटाका लगायतका सामग्री बरामद गर्न तथा भेरी करिडोर सडकखण्डमा सवारी चेकजाँचका क्रममा मोटरसाइकलबाट स्रोत नखुलेको रु. ५ लाख ५५ हजार रकमसहित दुई जनालाई पक्राउ गर्नसमेत उनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख छ ।

प्रहरी अनुसन्धान शाखामा कार्यरत रहँदा विभिन्न किसिमका उजुरीमाथि पीडित र पीडकबीचको संवेदनशील वातावरण सिर्जना गरी कानुनसम्मत तरिकाले सहज रूपमा प्रहरी सेवाको प्रभावकारी कार्यान्वयन गरेको तथा अनुसन्धान कार्यमा प्रत्यक्ष रूपमा खटिई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनको योगदानको उच्च मूल्यांकन गरिएको हो।
हवल्दार बुढाको स्थाइ ठेगाना कनकासुन्दरी गाउँपालिका वडा नं ५ जुम्ला हो ।

उत्कृष्ट कार्यसम्पादनमार्फत अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गरेको भन्दै कर्णाली प्रदेश प्रहरी कार्यालयले बुढालाई ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ छनोट गरी पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेको जनाएको छ ।

प्रकाशित मितिः   २०८३ साउन ७ at 6:06 pm 

  • कमेन्ट (Comment)