जुम्लामा नेविसंघद्वारा निर्वाचन परिचालन समिति गठन

नेपाल विद्यार्थी संघ (नेविसंघ) को विधान २०२७ (छैटौं संशोधन २०७५) को धारा १२ (५) बमोजिम आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै जुम्लामा निर्वाचन परिचालन समिति गठन गरिएको छ। नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित संघले जिल्लाका आठवटै स्थानीय तहमा संयोजक तोक्दै संगठनलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको हो।

निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन संयोजकहरूलाई आ–आफ्नो क्षेत्रको आवश्यकता अनुसार उपसमिति गठन गर्ने अधिकार समेत प्रदान गरिएको छ। संघका अनुसार विद्यार्थी शक्तिलाई संगठित र परिचालित गर्दै घरदैलो, भेटघाट, प्रचार–प्रसार तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।

गठित समिति अनुसार चन्दननाथ नगरपालिकामा प्रविन बुढथापालाई संयोजकको जिम्मेवारी दिइएको छ भने गुठिचौर गाउँपालिकामा रतन सिंह बुढा, कनकासुन्दरी गाउँपालिकामा अनिल बुढा र तातोपानी गाउँपालिकामा जनकराज खत्री संयोजक तोकिएका छन्। त्यसैगरी तिला गाउँपालिकामा हस्त नेपाली, पातारासी गाउँपालिकामा दत्तराज रावत, हिमा गाउँपालिकामा आशा आचार्य र सिंजा गाउँपालिकामा छवि बुढालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।

नेविसंघ जुम्लाले विद्यार्थी, युवा तथा शुभेच्छुक शक्तिलाई एकताबद्ध गर्दै लोकतान्त्रिक मूल्य मान्यता र पार्टीको नीति कार्यक्रमलाई जनतामाझ पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। संघका नेताहरूका अनुसार आसन्न निर्वाचनमा विद्यार्थीहरूको सक्रिय सहभागिता र समन्वयात्मक परिचालनले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरिएको छ।

यस निर्णयसँगै जुम्लामा चुनावी माहोल थप सक्रिय बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः   २०८२ फाल्गुन ८ at 9:54 pm 

  • कमेन्ट (Comment)