नेपालमा विद्यार्थी आन्दोलनको इतिहास गौरवमय छ। हरेक राजनीतिक परिवर्तन, सामाजिक जागरण र लोकतान्त्रिक आन्दोलनका अनेक मोडमा विद्यार्थी आन्दोलन अग्रभागमा उपस्थित थियो। राष्ट्रियताको पहरेदारको रूपमा दबाब, जागरण र खबरदारीको ध्वजा हमेसा विद्यार्थी आन्दोलनले नै उठाउँदै आएको हो। जनजीविकाको ज्वलन्त सवालहरूमा सबैभन्दा पहिला र अग्रभागमा विद्यार्थी आन्दोलन देखिने गरेकै हो।
२०२८ सालदेखि झापामा भएको किसान विद्रोह, २०३८ सालको महंगी विरोधी आन्दोलन, २०४० सालको पिस्करमा भएको गोलीकाण्ड विरूद्वको प्रर्दशन, २०४१ सालमा शिक्षक संर्घषमा सहभागी, २०४५ सालको भूकम्पमा पीडितलाई राहत उपलब्ध गराउने कार्यमा तदारूकता, २०५० सालको मदन-जिवराजको रहस्यमय हत्याको छानबिन गराउन गरेको आन्दोलन, २०५८ सालको र २०६१ मा जारी शाही घोषणा र राजतन्त्र विरूद्वको निर्णायक संर्घष २०६२/०६३ को जनआन्दोलनको अग्रमोर्चामा विद्यार्थीहरू देखिएपछि मात्र आन्दोलन निर्णायक बन्न पुगेको भन्दा अत्युक्ति नहोला। अतः राजनैतिक परिवर्तनको प्रमुख भूमिका विद्यार्थीहरूको नै रहेको छ ।
यसैगरी, राष्ट्र र अन्तर्राष्ट्रिय असमान सन्धि सम्झौताको विरूद्वमा आवाज उठाउने सडक आन्दोलन गर्ने, समाजमा घटेका विभिन्न किसिमका घटनामा अन्यायमा परेका आवाजविहीनहरूको आवाज बन्ने, महंगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, पेट्रोलियम पदार्थको मूल्यवृद्वि स्कुल कलेजहरूले मनोमानी ढंगले बढाइएका शुल्कको विषयमा सडक आन्दोलन गर्दै आएको छ।
आवश्यक ठाउँमा पाटी, पौवा, पुलपुलेसा, चौतारो, पुस्तकालय, वाचनालय निर्माण गर्ने, विपत्तिका बेला सहयोग गर्ने, स्वास्थ्य शिविर, साक्षरता शिविर संचालन गर्ने विद्यार्थीहरूमा हाजिरीजवाफ, वादविवाद, कथा, कविता, निबन्ध लेखन प्रतियोगिता राखेर बौद्धिक विकास गर्नेदेखि खेलकुद प्रतियोगितासम्ममा विद्यार्थीको अग्रणी भूमिका देखिन्छ।
त्यस्तै, नवमण्डले, गुण्डागर्दी, नाकाबन्दीका विरूद्धमा उठाइएका आवाज र आन्दोलन सफल भएका कार्यक्रम र घटनाले विद्यार्थी आन्दोलन, राष्ट्र, जनता, आमजनसमुदाय र न्यायप्रेमी विद्यार्थीहरू प्रति समर्पित रहँदै आएको छ। हिजोआज विद्यार्थी संगठनको आवश्यकतामाथि प्रश्न चिन्ह उठ्न थालेको छ । विद्यार्थी राजनीतिबाटै राष्ट्रिय राजनीतिमा छवि बनाई स्थापित भएका नेताहरूले समेत विद्यार्थी संगठनको औचित्यमाथि प्रश्न उठाइरहेको पाइन्छ।
अझ भ्रष्टाचारको कारण देखाएर विश्वविद्यालयमा राजनीतिक दलका झोला बोकेर पस्नु हो त्यसकारण बन्द गर्नुपर्छ भन्न खोजिएको छ। नेपालको सन्दर्भमा हेर्ने हो भने विद्यार्थी संगठनहरूलाई राजनीतिक दलहरूका भगिनि संगठनको रूपमा निर्माण गरेर अगाडि बढाइएको कुरा सर्वविविदै छ।
तर के विद्यार्थी संगठन अथवा हाम्रो शैक्षिक क्षेत्र भित्रका भ्रातृ संगठनहरू भ्रष्टाचार गर्न खोलिएका हुन् त? के कारण भ्रातृ संगठनहरू औचित्यहीन बन्न पुगे? तपाईंहरू आफू त्यही भ्रातृ संगठनमा हुनुहुन्थ्यो अब हामीले तपाईंलाइ पनि गलत प्रवृत्ती उदाएका नेता भनेर गलत मूल्यांकन गर्ने कि तपाईंहरूले आफूबाहेक अर्को पुस्तालाई नेता मान्न सक्नु हुँदैन भन्ने बुझ्ने?
के विद्यार्थी संगठनका गतिविधिले मात्र हो त भ्रष्टाचार मौलाएको? के विद्यार्थी संगठनहरूका आफ्नो स्पष्ट छुट्टै सिद्वान्त, नीतिनियम र कार्यदिशाहरू छैनन् त? के साँच्चै विद्यार्थी संगठन खारेज गरे भ्रष्टचारको जालो बडारिन्छ त? कि तपाईंले आफ्ना भ्रातृ संगठनका गतिविधिलाई नियन्त्रण गर्न नसकेको कारण खारेज गरौं भन्नु भएको त होइन? यस परिवेशमा हाम्रा क्याम्पस र विश्वविद्यालयहरूमा विद्यार्थी संगठनको औचित्य समाप्त भएको हो त? के विद्यार्थी संगठनले आगामी दिनमा केही पनि परिवर्तनका आवाज बुलन्द गर्न सक्दैनन् त? के विद्यार्थी संगठनका भावी लक्ष्य र कार्यदिशाहरू पूरा भइसके वा अब केही पनि गर्नु पर्दैन त? यस्ता प्रश्नले गिज्याइ राखेको छ।
हाल विकसित मानिने मुलुकहरू अमेरिका युरोप तथा एसियाका धनी देशहरूमा आज भन्दा डेड दुईसय वर्ष पहिला विश्वविद्यालयमा अध्ययन गर्ने समूहले नै विद्रोह र आन्दोलन गरेर मात्र समाज रूपान्तरणको एक फड्को मारिसकेको देख्न र बुझ्न सकिन्छ यता दक्षिण एसियाका अति कम विकसित र अल्पविकसित राष्ट्र हरूमा विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनलाई अझै पनि निरन्तरता दिइरहेको पाइन्छ। यसको आवश्यकता पनि प्रशस्तै देख्न सकिन्छ।
हिजो आज विद्यार्थी संगठन र राजनैतिक दलका भातृ संगठनको आडमा क्याम्पस र विश्वविद्यालयमा गैरजिम्मेवार पूर्ण घटनाहरू घटाउन थालिएको कुरा चैँ सत्य हो। तर, औंलामा समस्या आयो हातै काटिदिनु पर्छ, रुघा लाग्यो भने नाकै काटी दिनु पर्छ भन्ने बहस राम्रो होइन। विद्यार्थी आन्दोलनमा समस्या छन्, बहस गर्न सकिन्छ। यसको मतलव यो होइन कि विद्यार्थी संगठनको अचित्य नै छैन। विद्यार्थीहरूले हाम्रा सामाजिक क्षेत्र, आर्थिक क्षेत्र, वातावरणीय क्षेत्र, वैदेशिक नीति, श्रम रोजगारीका क्षेत्र, प्रशासनिक क्षेत्र र सुशासनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छन्।
हाम्रो देशमा साधारण ठाउँको लागि नियुक्त गर्दा संसदीय सुनुवाइ गराइन्छ तर देशको भविष्य बनाउने ठाउँमा किन सुनुवाइ हुँदैन? शिक्षक तथा प्राध्यापक नियुक्तिको सुनुवाइ कसले गर्ने कहिले गर्ने?
विद्यार्थी संगठनहरू नेतृत्वमा प्रतिस्पर्धा गर्न, राजनीति चेतनाको विकास गर्न, नेतृत्व क्षमतामा विकास गर्नको लागि आवश्यकता पर्दछ। यी र यस्तै गतिविधिलाई सुधार गर्दै विश्वविद्यालय ऐन निर्माण गरेर व्यावस्थित तरिकाले लागू गराउन जरूरत देखिन्छ।
शिक्षामा राज्य उदासिन छ। विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म राज्य आफ्नो दायित्वबाट पन्छिरहेको छ। राज्य भूमिका बिहिन र गैरजिम्मेवार बन्दै शिक्षा निजी क्षेत्रलाई सम्पदा अराजकता सिर्जना भएको छ। शिक्षालाई सिमित हुनेखाने वर्गको अधिकारको रूपमा सिमित गर्न खोजिएको छ। शिक्षा क्षेत्रको नियन्त्रण र नियमन गर्नुपर्ने शिक्षा क्षेत्रका व्यापारी र माफियाहरुको अनुकुलतामा नीति नियम बनाउने गरिएको छ।
नेपालको शिक्षा व्यापारीको सर्वाधिक मुनाफा कमाउने माल भएको छ। शिक्षा विशाल बजारमा बदलिएको छ। विद्यालय, क्याम्पस, सुपरमार्केट र कम्पलेक्स जस्ता भएका छन जहाँ पैसाको तौल अनुसार शिक्षाको किनबेच हुन्छ। कानुनी हिसाबमा प्रतिबन्ध नलगाइको भए पनि शिक्षा महंगो बनाएर पैसा नहुनेलाई बन्देज लगाइएको छ। प्राविधिक शिक्षा र उच्च शिक्षा त झन पैसा नहुनेका लागि आकाश हो फल नै भएको छ।
शिक्षा प्रतिभा र पूँजी पलायन गर्ने मध्यम बनिरहेको छ। विश्वविद्यालय, कलेज, क्याम्पसहरु बेरोजगार उत्पादन गर्ने भट्टी जस्ता भएका छन्। नेपालको शिक्षाले प्रमाणपत्र दिने बाहेक सीप बिहिन, उदेश्य बिहिन, अकोहोरो, दृस्ठिकोण बिहिन जनशक्ति उत्पादन गरिरहेको छ। नेपालको शिक्षाले मुलरुपमा विद्यार्थीलाई श्रमबाट अलग्याएर कल्पनावादी, खोक्रो आदर्श र किताबी ज्ञान मात्र सिकाइरहेको छ। नेपालको शिक्षा जनता र विद्यार्थीको वास्तविक जीवनसँग मेल खाने खालको छैन। नेपालको शिक्षा अव्यवहारिक अवैज्ञानिक हुनाले विद्यालय क्याम्पसहरु बेरोजगार उत्पादन गर्ने भट्टीमा परिणत भएका छन्।
हामी हाम्रो जीवन यो देशमै बाँच्न चाहन्छौं। विदेशी गल्लिमा होइन। हामी यो सब खराबीका विरुद्ध आवाज उठाउन सिकाउँछौं। विद्रोह बोल्न सिकाउँछौं। हामी हाम्रो सबैको जीवन खोज्छौं अनि यहाँ पाउदैनौं। संगठित भएर हाम्रो जीवन र हामीलाई विदेशी गल्लिमा धकेलिदिनेहरुका विरुद्ध लडौं भन्छौँ। यदि कसैले यो भन्नू हुँदैन भन्छ भने विद्रोहको आवाज बोल्नु हुँदैन भन्छ भने हामी अझ ठूलो स्वारले भन्छौं र बोल्छौं।
के साँच्चै विद्यार्थी आन्दोलनको औचित्य र सान्दर्भिकता सकिएकै हो त? बिल्कुल सकिएको छैन। नेपालमा विद्यार्थी आन्दोलनको इतिहास गौरवमय छ। इतिहास साक्षी छ, राजनीतिक परिवर्तन, सामाजिक जागरण र न्यायपुर्न आन्दोलनका हरेक मोडमा विद्यार्थी आन्दोलन अग्रभागमा उपस्थित थियो, छ। राष्ट्रियताको पहरेदारको रूपमा दबाब, जागरण र खबरदारीको ध्वजा हमेसा विद्यार्थी आन्दोलनले नै उठाउँदै आएको हो। जनजीविकाको ज्वलन्त सवालहरूमा सबैभन्दा पहिला र अग्रभागमा विद्यार्थी आन्दोलन देखिने गरेकै हो गरेकै छ।
आज यातायातका साधनहरूमा विद्यार्थीलाई परिचयपत्रको आधारमा जुन ४५ प्रतिशत छुट उपलब्ध छ, त्यो त्यही विद्यार्थी आन्दोलनकै उपज हो। अतितको विद्यार्थी आन्दोलन गौरवशाली रहे पनि वर्तमानमा यो आन्दोलन बहसको कठघरामा उभिएको छ यसम दुई मत छैन्। तर यसको मतलब यो होईन कि विद्यार्थी संगठन र विद्यार्थी राजनीति आवस्यकता नै नहोस्!
विद्यार्थी आन्दोलनले आफूलाई समयानुकूल अद्यावधिक गर्दै लानुपर्छ। बहस यता गर्न सकिएला। एक थरी मान्छेहरु कुतर्क गर्न थालेका छन् कि विद्यार्थी संगठन र दलीय प्रणालीको नै औचित्य समाप्त भइसकेको छ । यो प्रवृत्तिबाट चनाखोपूर्वक जोगिनुपर्छ।
अर्काथरी आलोचकहरू पनि छन्, जो हमेसा विद्यार्थी आन्दोलनलाई दुश्मन ठान्छन्। खासगरी त्यस्ता मानिसहरू विद्यार्थी आन्दोलनको राप र तापको प्रताडनामा पर्नेहरू हुन्। शिक्षा क्षेत्रमा निजीकरण, व्यापारीकरण र माफियाकरणको जालो निकै जब्बर र डरलाग्दो छ। विद्यार्थी आन्दोलन बलशाली र प्रभावशाली हुँदा आफ्नो स्वार्थमा धक्का लाग्ने ठान्नेहरू प्रायश: विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन अनेक प्रपञ्च रचिरहेका हुन्छन्।
राजनीति भनेकै आफ्ना नागरिकको जीवनलाई सहज बनाउन समाजमा लुकेको शक्तिको खोज, संकलन, प्रस्फुटन गर्ने विज्ञान हो। जहाँ नागरिकको आवश्यकता, आकांक्षा हुन्छन्, त्यहाँ राजनीति हुन्छ। शिक्षा, स्वास्थ्य, कृषि, जीवन सबमा राजनीति हुन्छ। मेरो घरमा हुने लोडसेडिङ हट्नेदेखि, घरमा पानी नआउनेसम्मको विषय राजनीति हो। मेरो परीक्षा कस्तो हुन्छ भन्नेदेखि मैले देशमै पढ्ने वा बाहिर जानुपर्ने भन्ने विषय पनि राजनीति हो।
नागरिकता बनाउन फारम बोकेर मेरो घरमा कोही आउँछ वा लाइसेन्स बनाउनसमेत मैले घुस खुवाउनुपर्छ भन्ने विषय पनि राजनीति नै हो। प्याजको मूल्यदेखि गाडीको मूल्यसम्म राजनीतिले नै निर्धारण गर्छ। अहिले हामी गलत राजनीतिको सिकार भएका छौँ। यही कारणले हामी राजनीतिप्रति नकारात्मक बनेका हौँ। तर, हाम्रो जीवनस्तरलाई उकास्ने अनि व्यवस्थित गर्ने विज्ञान नै राजनीति हो। त्यसैले राजनीति ‘हेट’ गर्ने विषय होइन। राजनीति चासो दिने, बुझ्ने र सहभागी हुने विषय हो। शिक्षालाई राजनीतिको हतियार होइन, राजनीतिको सहयात्री बनाउन जरुरी छ।
अध्ययन सकेर आफ्नो पेशा व्यवसाय गर्न थालेका व्यक्तिहरूभन्दा खोज अध्ययन गर्ने र पढ्दै गर्ने व्यक्तिहरू बढी निर्णायक भूमिकामा पुग्ने गरेको पाउँछौं । इतिहासमा विश्वका ठूला परिवर्तनहरूको प्रमुख भूमिका विद्यार्थी र युवाहरूको देख्न र भेट्न सकिन्छ। व्यक्तिको भन्दा विधिको, नेताभन्दा नीतिको, सिम्प्टमभन्दा सिस्टमलाई सम्बोधन गर्नेखालको दृढ इच्छाशक्तियुक्त राजनीतिकर्मी उत्पादन गर्ने शिक्षा आजको खाँचो हो।
अन्त्यमा, भन्नू पर्दा विद्यार्थी आन्दोलनले आफूलाई समयानुकूल अद्यावधिक गर्दै लानुपर्छ। बिश्वका विविध बिगामा ज्ञान् आर्जन गर्दै समाज परिवर्तन र आधुनिक युग लाई परिकल्पना गर्दै विश्व सामु लडिबुडी गर्दै आफ्नो बौद्धिकता, क्षमता र ब्यबहारिकता लाई जुन कुनै राजनैतिक आस्थासँग जोडिए पनि त्यो आस्था सिङ्गो समाज र देश परिवर्तनलाई आत्मासाथ गर्दै नयाँ वैज्ञानिक कार्यशैली अवलम्बन गरेको र असल चरीत्रवान सभ्य नागरिक उत्पादनसँग मात्रै विद्यार्थी राजनीतिको औचित्य र सान्दर्भिकताको गर्विलो ओजन चिरस्थायी रहन सक्छ।
(लेखक नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुनुहुन्छ)
धन बहादुर बुढा । २०८१ बैशाख २३