पातारासीकी विष्णुमाया ऐडीको डोल्पा पाटनमा निधन : चार जना युवा अलपत्र

जुम्लाको पातारासी गाउँपालिका -१ स्याला गडीगाउँकी विष्णुमाया ऐडीको डोल्पा पाटनमा निधन भएको छ। यार्सा संकलन गर्न गएका बेला डोल्पाको प्यारी गुफा लेकको माथिबाट अचानक आएको ढुङ्गा खसेर टाउकोमा चोट लाग्दा उनको ज्यान गएको हो।

उनी घर खर्चको जोहो गर्नलाई डोल्पा पाटन गएकी थिइन्। डोल्पाको प्यारी गुफा लेकको माथिबाट ढुङ्गा खसेर टाउकोमा चोट ज्यान गएको पातारासीका स्थानीय श्रीराम थापाले बताए।

‘विष्णुमायाको वैशाख २७ गतेका दिनमा निधन भएको हो। उहाँको निधनले अहिले पुरै गाउँका शोकमा रहेको छ,’ उनले भने, ‘दुईजना नाबालक अहिले आमा विहिन हुन पुगेका छन्।’

मृतक ऐडीका अन्दाजि ८ वर्षका छोरा र १० वर्षकी छोरी बिचल्लीमा परेको वडाध्यक्ष लालसिंह ऐडीले बताए। उनका अनुसार मृतक ऐडीको शव ल्याउन संभव नभएकाले पाटनमै गाडिएको छ।

यसैबीच डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चार जना युवाहरु अलपत्र परेका छन्। जिल्लाको पातारासी गाउँपालिका -३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउँ पासुक क्याम्पमा अलपत्र परेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए।

उनले भने, ‘पातारासी ३ मोहरीगाउका ओमप्रकाश बुढा र जय बुढा तथा चौर गाउँका हिरालाल रावत र चन्नलाल रावत अलपत्र परेका छन्। चार जनामध्ये ओमप्रकाश बुढा लेक लागेर बिरामी परेको खबर छ।’

प्रकाशित मितिः   २०८१ बैशाख ३० at 5:33 pm 

  • कमेन्ट (Comment)