जुम्लाको रत्नचूडेश्वरका शिक्षक, कर्मचारीले निजी स्कुलमा छोराछोरी पढाए अतिरिक्त सुविधा नपाउने

सार्वजनिक शिक्षा सुधार अभियान -३

जुम्ला सदरमुकाम खलंगा बजारबाट दक्षिणतिर देवदार र सल्लाकाे जंगलले ढाकिएकाे एउटा विद्यालय छ। शान्त वातावरणमा रहेकाे विद्यालयकाे नाम हाे, रत्नचूडेश्वर मावि। जहाँ १२ सम्मकाे पढाइ हुन्छ। त्यो स्कुलका अध्यक्ष छन्, नवीन न्यौपाने।

हरेक वर्ष जस्तो कक्षा ११ र १२ मा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यालयकाे व्यवस्थापन समितिमा उनी आएदेखि चुस्त बन्दै गएको छ। नेतृत्व गर्ने कुुसल सीपकै कारण उनलाई विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल जुम्ला शाखाको अध्यक्ष पदमा निर्वाचित गरायो।

विद्यालय आकर्षणकाे केन्द्र रहनु, शान्त वातावरण र कक्षा ११-१२ काे राम्रो नतिजाले मात्रै हाेइन। विद्यालयले आफ्नै जग तयार पार्ने प्रयत्न गर्नु र भविष्य सुनिश्चित हुने माहाेल बनाउने प्रयत्नले पनि हो। नवीन त्यसैका निम्ति सक्रिय भइरहेका छन्।

तुलनात्मक रुपमा विद्यार्थी कम भए पनि निजी स्राेतका शिक्षक राखेर भएपनि कक्षा एकदेखि छ सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइरहेको उनको भनाई छ।

‘स्कुलले पहिलो वर्ष नर्सरी र केजीबाट अंग्रेजीमा पढाउन सुरु गरेको थियोे। त्यसपछि हरेक वर्ष एक कक्षा बढाउँदै लगेर यो वर्ष कक्षा छ पुगेको छ,’ उनले भने, ‘अब हरेक वर्ष एक कक्षाका दरले बढाउँदै जाने याेजना रहेकाे छ। यसले परिणामा ढिलो देला तर साह्रै राम्रो दिनेछ।’

तल्लो तहमा प्राय: निम्न आयस्रोत भएका अभिभावक र त्यसमा पनि अधिकांश दलित समुदायका विद्यार्थी मात्र पढिरहेको हुँदा उनीहरुलाई प्रतिस्पर्धी बजारमा पुगाउन अंग्रेजी माध्यम सुरु गरिएकाे उनको भनाई छ।

‘हाम्राे विद्यालयकाे कक्षा ११, १२ मा जिल्लाभरबाट विद्यार्थी पढ्न आउँछन्। एक से एक राम्रा विद्यार्थी छानेर भर्ना लिन सक्ने स्थिति छ,’ उनले थपे।

उनका अनुसार तल्लो तहमा विद्यार्थी आउने एउटा मात्रै गाउँ हुनु र सबै गाउँलेहरुका छोराछोरी नपढ्नु तथा नेपाली माध्यमबाट मात्रै अध्ययापन हुँदा तल्लो तह सबै विद्यार्थीकाे राेजाई बन्न सकिरहेकाे छैन। त्यसैले जग बसाल्न तल्लो तहबाटै अंग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको हो।

अहिले अंग्रेजी माध्यममा कक्षा १ देखि छ सम्म अध्ययन गरिरहेका अधिकतम विद्यार्थी दलित समुदायकै भएको अध्यक्ष न्यौपानेको भनाई छ।

‘घरकाे वातावरण शिक्षा हासिल गर्नलाई उपयुक्त नभए पनि विद्यार्थी निकै टाँठा छन्। उनीहरु हिलाेमा फुलेका कमल जस्तै हुन,’ उनले भने, ‘अब उनीहरु अन्य निजी स्कुलका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्छन्। हामीले त्याे अभ्यास गर्दा उनीहरु टाँठा देखिए।’

विद्यालयकाे जनशक्ति सक्षम हुँदा पनि अध्यापनकाे माध्यमका कारण विश्वास पाउने वातावरण बनाउन अंग्रेजी माध्यम सुरु गरिएकाे उनी भन्छन्।

‘यसकाे लाभ अहिले दलित समुदायले लिइरहेको छ। अब सबैले लिने वातावरण बनाउँदैछाैं। स्कुल सबैकाे गन्तव्य बनाउने साेच राखेर अगाडि बढिरहेका छाैं,’ भन्छन्, ‘एउटा समुन्नत समाजको परिकल्पना गर्न शैक्षिक स्तरलाई ध्यान दिनैपर्छ। अहिले हामीले हाम्रो सबै उर्जा त्यसैमा केन्द्रित गरेका छाैं।’

पछिल्लो समय विद्यालयकाे पूर्वप्राथमिक तहदेखि कक्षा पाँचसम्म पढाउने पाँच जना शिक्षक नियुक्ति गरी पठनपाठनको तयारी भइरहेको छ।

‘अब याे वर्षमा समुदाय र अविभावकले विश्वास गर्ने खालको नतिजा दिने भरपुर कोसिस गर्नेछौं। समुदायले विश्वास मात्रै गरेको खण्डमा हामीले ठूलो उपलब्धि हासिल गरेका ठानिनेछ,’ उनले भने।

पछिल्लो समय शिक्षक र अविभावकबाट यसको प्रतिक्रिया सकारात्मक आएकाले विद्यालय परिवार उत्साहित भएको र शिक्षकहरुमा समेत उत्साह देखिएको उनको अनुभुती छ।

‘यश अघिका कमीकमजोरी सबै सुधारिनेछन्। समुदाय र अभिभावकसँग एक खालको बाचा पनि गरेका छौं,’ उनले भने, ‘यसमा सबैको साथ सहयोग चाहिन्छ। रचनात्मक सल्लाह, सुझाव र आलोचनाको अपेक्षा राखेका छौं।’

यतिबेलाकाे घरदैलो अभियानमा धेरैजसो अभिभावकले सरकारी स्कुलमा पढाउने शिक्षकले आफ्ना छाेराछाेरी पनि सरकारी स्कुलमा पढाउनुपर्ने भनी राेखेकाे माग अनुसार आफूहरु तयारीमा लागेकाे र व्यवस्थापन समितिले गरेको आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउने शिक्षकलाई सरकारी सुविधा बाहेक थप कुनैपनि सुविधा दिन नसकिने भनी निर्णय गरेको उनले बताए।

‘हामीले विद्यालय व्यवस्थापन समितिका सबै पदाधिकारीका छाेराछाेरीलाई पनि आफ्नै स्कुलमा भर्ना गराएका छाैं। कोही शिक्षकका छाेराछाेरी निजी स्कुलमा पढिरहेको खबर छ। हामी उहाँहरुलाई अनुरोध गरिरहेका छौं। अटेर गरे उहाँहरुले पाउने सबैखाले सेवा सुविधा रोकिनेछ,’ उनले भने।

जुम्लाको खलंगा बजारको किनारामै रहेको रत्नचूडेश्वर माविको भौगोलिक अवस्थिति अत्यन्तै मिलेको र लोभलाग्दो छ। अध्ययनका लागि जिल्लाकै उत्कृष्ट पुस्तकालय छ। समग्रमा पठनपाठनकाे शान्त वातावरण छ।

अहिले विद्यालयमा सरकारकाे विग विद्यालयकाे याेजना परेकाे छ। जसअन्तर्गत ठूला भवन बन्दैछन्। करिब २९ करोडकाे क्रमागत याेजनाअन्तर्गत डीपीआर भइसकेको छ। क्रमागत रुपमा बजेट आइरहेकाले विद्यालयमा अत्याधुनिक भुकम्प प्रतिरोधात्मक भवन बन्दैछ।

अध्यक्षमा न्यौपाने आएपछि विद्यालयका लागि छुट्टै मुहान खोजेर २४ घण्टा पानी आउने धाराको व्यवस्था गर्दैछन् भने विद्यालयले पठनपाठनमा आधुनिक प्रविधि भित्र्याएको छ। ‘हामीसँग जिल्लाकै नमुना पुस्तकालय छ। गणित प्रयोगशाला, कम्प्युटर ल्याब निर्माण गरेका छौं भने विद्यार्थीहरुलाई स्मार्ट बोर्डको प्रयोग गरि पठनपाठनका आधुनिक प्रविधि भित्र्याएका छौं।’

यो पनि पढ्नुस्

सार्वजनिक शिक्षा गुणस्तरीय छ, अझ राम्रो बनाउन सकिन्छ : अन्तर्वार्ता

प्रकाशित मितिः   २०८१ बैशाख २७ at 4:37 am 

  • कमेन्ट (Comment)